News Portal

म अछुत भएँ – रश्मि रोदन

कविता
५९६ पटक

  रश्मि रोदन

म अछुत भएँ
किनकी म गरिबको कोखबाट जन्मिए
मेरा बा र आमालाई एक पेटभरी खानका लागि
एक दिनभरि मालिकको खेतमा
नारेको गोरुजस्तै गरी जोतिनुपर्छ
मालिकले अञ्जुली जोडेर दिएको
मकैका दानालाई आमाले
एक अञ्जुलीभरि माया थपेर
फाटेको पटुकीको एक छेउमा पोको पारेर
आफू भोकै बसेर मेरो भोक मेटाउथिन्
त्यसैले म अछुत भएँ ।

म यदि मालिकजस्तै धनी घरमा
जन्मिएको भए म कथित दलित हुनेथिइनँ
अहँ! म अछुत हुनेथिइनँ
हुने थियो
ठूलो घरभित्र साना-साना मनहरू
हुनेथियो खेतका ठूला-ठूला गरासँगै
साघुँरा भएका साना-साना सोचहरू
र हुनेथियो ठूलो जातको पोगरी गुथेर
खुम्चिएको साना-साना
मसँग त्यसको ठ्याक्कै विपरीत छु
त्यसैले म अछुत भएँ ।

खोलाको पानी र समाजको बानी उस्तै लाग्छ
कहिले धमिलिएर बग्छ
कहिले भेल, बाढी चल्छ
तर कहिल्यै उकालो बग्न सक्तैन
जस्तो कि जिम्बल बाको सोच
जब शासकहरूले जात वर्ण व्यवस्था लागू गरे
हो म त्यसै दिनबाट अछुत भएँ ।

प्रतिकृया दिनुहोस्