
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले धादिङको बेनिघाट-रोराङ गाउँपालिकाको वडा न. १ र २ को सिमाना स्थित अति विकट तामाङ बस्ती रहेको च्यात्रा गाउँमा आधारभूत विद्यालय निर्माण गरेको छ ।
शुक्रबार संगठनले एक कार्यक्रम आयोजना गरि विद्यालयको औपचारिक उद्घाटन गरेको हो । उक्त कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक सन्देश मार्फत शुभकामना व्यक्त गरेका थिए ।
धादिङ जिल्लाको अति विकट यस बस्तीमा विद्यालय नहुँदा बालबालिकाहरु शिक्षाबाट वन्चित थिए । बस्तीबाट विद्यालय पनि तीन घण्टाको दुरीमा रहेको र भिरालो बाटो भएकोले बालबालिकाहरु पढ्ने अवसरबाट वन्चित थिए ।
नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता प्रतिबन्धको समयमा अभियानको क्रममा त्यस क्षेत्रमा जाँदा विद्यालय नै नभएकोले नेपाल कम्युनिस्ट पार्टी र अखिल क्रान्तिकारीको पहलमा विद्यालय निर्माण गरिएको हो ।
त्यस गाउँमा करिब २५ घर धुरी रहेका छन् । गाउँमा करिब ५० को संख्यामा बालबालिका रहेको अखिल (क्रान्तिकारी) जनाएको छ । यस भन्दा पहिले बालबालिका विद्यालय जाने अवस्था नरहेको अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाहीले बताए ।
अखिल (क्रान्तिकारी)ले आफ्नै लगानी, श्रमदान र स्थानीयसँगको सहकार्यमा ४ कोठे विद्यालय भवनको निर्माण सम्पन्न गरेको हो । भवन उद्घाटन लगत्तै विद्यालयमा पढाई सुरु भएको छ । विद्यालयलाई आवश्यक फर्निचर ,खेलकुद सामग्री र शैक्षिक सामग्री समेत क्रान्तिकारीले उपलब्ध गराएको छ । अहिले विद्यालयमा ३० जना विद्यार्थी भर्ना भएको विद्यालयकी शिक्षिका अस्मिता घलानले बताइन् ।