News Portal

रास्वपा संसदीय दलको बैठक सुरू, रवि लामिछानेलाई दलको नेता चुन्ने

फरकपोस्ट संवाददाताबैशाख १८ काठमाडौं
१३४ पटक
बैशाख १८ काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक सुरू भएको छ । कार्यालय बसुन्धरामा सुरू भएको संसदीय दलको बैठकले पार्टी सभापति रवि लामिछानेलाई नेता चुन्ने छ ।

केहीबेरअघि बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले लामिछानेलाई दलको नेता चुन्न निर्देशन दिएको थियो ।

‘उहाँलाई सर्वसम्मत रूपमा दलको नेता चयन गर्न पार्टीको विधानअनुसार केन्द्रीय कमिटीलाई निर्देशन दिएको छ,’ उनले बैठकपछि भनेका थिए ।

संसदीय दलको बैठकमा सरकारमा जाने/नजानेबारे सांसदहरूको धारणा लिइने पनि एक सांसदले जानकारी दिए ।

केन्द्रीय कमिटीको बैठकमा सभापति लामिछानेले सरकारमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्ताव गरेको जानकारी गराएका थिए । जवाफमा आफूले सरकारको न्यूनतम साझा कार्यक्रमबाट रास्वपाका विषय हटाएको लगायतका विषयमा आफ्ना धारणा राखेको बताएका थिए ।

वैशाख २२ गते बस्ने बैठकले सरकारबारे निर्णय गर्ने पार्टी प्रवक्ता मुकुल ढकालको भनाइ छ ।

‘शुक्रबार केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक बस्छ, त्यसैले निर्णय गर्नेछ,’ उनले भने।

पार्टी केन्द्रीय सदस्य विपीन आचार्यले पनि आजको केन्द्रीय समितिको बैठकमा सरकारमा जाँदा, नजाँदाका फाइदा, बेफाइदाबारे छलफल गरिए पनि ठोस धारणा आइनसकेको बताए ।

‘आज आ-आफ्नो राय लिनेमात्रै काम भएको छ। सभापति रवि लामिछानेले पनि तलबाट धारणा लिने नै काम गरिरहनुभएको छ । शुक्रबार बस्ने बैठकले निर्णय गर्नेछ,’ उनले भने ।

प्रतिकृया दिनुहोस्