News Portal

राजशान्ति शैक्षिक छात्रवृत्ति कोषको स्थापना

फरकपोस्ट संवाददाताजेठ ९ काठमाण्डाैं
९९३ पटक
जेठ ९ काठमाण्डाैं

लम्जुङ जिल्ला सुन्दरबजार नगरपालिका वडा नं. ९ भोटेओडार घर भइ हाल बेलायतमा बसाेबास गर्दै आएका समाजसेवी  राजकुमार सुनार (राजु) ले राजशान्ति शैक्षिक छात्रवृत्ति कोष स्थापना गरेका छन्  ।

जेष्ठ नागरिक समाज भोटेओडारद्धारा सञ्चालन हुने गरि राजशान्ति दम्पत्तिले उक्त कोषकाे स्थापना गरेका हुन् । आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय जानबाट वञ्चित अपाङ्ग भएका बालबालिकालाई शैक्षिक छात्रवृत्ति उपलब्ध गराइने उद्देश्यले अक्षय कोष स्थापना गरिएको राजकुमार सुनारले बताए ।

सुनार दम्पत्तिले कोषका लागि ५० हजार रुपैयाँ जेष्ठ नागरिक समाज भोटेओडारलाई उपलब्ध गराइसकेका छन् । ५० हजार रुपैयाँबाट सुरु गरेको अक्षयकोषलाई आगामी वर्षमा बढाउँदै लैजाने सुनारले बताएका छन् । अक्ष कोषको ब्याजबाट आउने रकमबाट १ जना अपांगता भएका बालबालिकाको पढाईमा सहयोग गर्ने जेष्ठ नागरिक समाज निमित्त अध्यक्ष नारायण ढकालले बताए ।  कोषबाट मासिक ५ सय (वार्षिक ६ हजार) रुपैयाँ रकम प्रत्येक वर्ष एकजना अपागंता भएका बालबालिकालाई शैक्षिक छात्रवृत्ति उपलब्ध गराइने छ ।

जेष्ठ नागरिक समाज भोटेओडरले उक्त कोषको शैक्षिक छात्रवृत्ति बेसीशहर नगरपालिका ७ को बाल मन्दिर आधारभुत विद्यालय कक्षा ५ मा अध्ययनरत छात्र बुद्धिबहादुर तामाङलाई दिने निर्णय गरेको छ । तामाङलाई कक्षा १० सम्मकाे पढाइमा मासिक ५ सय रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको समाजका सल्लाहाकार गोविन्दबहादुर कुँवरले बताए ।

बेसीशहर नगरपालिकाको ल्याण्डफिल्ड साइटमा खेल्ने क्रममा २०७९ बैशाखमा विद्युतीय तारबाट करेण्ट लागेर तामाङले एउटा हात गुमाएका छन् । करेण्ट लागेर हात गुमाएका बालकले राम्रोसँग उपचार समेत पाउन नसकेको उनको परिवारले बताएको छ । नेपाल विद्युत प्रधिकरणले हालसम्म क्षतिपूर्ति समेत नदिएको र आर्थिक अभावका कारण थप उपचार समेत गर्न नसकेको तामाङका आमाले बताइन् । उक्त घटनाका कारण अझै पनि ढुक्कले निदाउन नसक्ने, बेलाबेलामा दुखिरहने तामाङले बताए । तामाङको परिवार बेसीशहर नगरपालिका ८ को कर्पुरेश्वर महादेव मन्दिर नजिक मस्र्याङ्दी नदी किनारमा अर्काको जग्गामा टहरो बनाएर ज्याला मजदुरीकाे भराेसामा गुजारा चलाउँदै आइरहेकाे छ ।

बेलायतमा बसाेबास गरिरहेका सुनार दम्पत्तिले आफ्नो परिवारको नाउँमा राजशान्ति फाउण्डेशन स्थापना गरेर विगत लामाे समयदेखि सामाजिक कार्य गर्दै आइरहेकाे छ । आफ्नो परिवारका सदस्यले कमाएको केही रकम फाण्डेशनमा जम्मा गर्ने र फाउण्डेसनमार्फत स्वदेशमा गाह्रो अप्ठ्यारोमा परेका असाहाय, असक्त व्यक्तिलाई र सामाजिक कामका लागि सहयोग गदै आएको सुनारले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्