News Portal

निषेधाज्ञा जारी हुने भएपछि झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडे

फरकपोस्ट संवाददाताबैशाख १५, काठमाडौं
२३७ पटक
बैशाख १५, काठमाडौं

काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यका छोड्ने मानिसहरुको बढेको छ । यकिन तथ्याङ्क यति उति भनेर नभनिए पनि काठमाडौं बाहिरिने यात्रुको चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको हुनसक्ने अनुमान छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा फैलिएको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

गोँगबुस्थित नयाँ बसपार्क मङ्गलबार बिहानैदेखि घर फर्किनेहरूले भरिभराउ थियो । यातायात व्यवसायी मिन पनेरुले बसपार्कबाट छुटेका प्रायः सबै सवारी साधन उपत्यका छाड्ने यात्रुहरुले भरिएको जानकारी दिए ।

देशका विभिन्न स्थानबाट काठमाडौँ उपत्यका भित्रिएका बस, माइक्रोबस र मिनीबसलाई तत्कालै सम्बन्धित गन्तव्यमा पठाउने काम भइरहेको उनले जानकारी दिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्गलबार मात्र झन्डै पाँच लाख जनाले उपत्यका छोडेको अनुमान गरिएको छ ।

महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले सङ्ख्यामा उल्लेख गर्न नसके पनि नाकामा दशैँ–तिहारकै जस्तो भीड बढेको बताए ।
उपत्यका भित्रिनेभन्दा बाहिरिने सवारी साधनको सङ्ख्या दोब्बर रहेको छ । नागढुङ्गा, भक्तपुरको जगाते, बल्खु–फर्पिङ, चन्द्रागिरि, ललितपुरको लेले, टोखा छहरे, मुड्खु, जरसिंहपौवा र रामकोटलगायतका नाकाबाट भित्रिनेभन्दा बाहिरिने सवारी साधनको सङ्ख्या दोब्बर पुगेको ट्राफिक प्रहरीले जनाएको छ ।

मङ्गलबार लामो दूरीका यात्रुको सङ्ख्या बढी देखिएको छ भने बुधबार छोटो दूरीका यात्रुको चाप बढ्ने अनुमान यातायात व्यवसायीको छ । नागढुङ्गा नाकाबाट मात्र मङ्गलबार १५ हजार सार्वजनिक सवारी साधन बाहिरिएका छन् ।
ती सवारी साधनबाट करिब दुई लाख ५० हजार यात्रु बाहिरिएको प्रहरीको अनुमान छ ।

महानगरीय प्रहरी कार्यालयका अनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म एउटै नाकाबाट यति धेरै यात्रु बाहिरिएका हुन् । त्यस्तै, जगातेबाट पनि करिब एक लाख बाहिरिएको अनुमान गरिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्