News Portal

हाम्रो चाहाना विभाजन होइन, एकता नै हो : माधव नेपाल

फरकपोस्ट संवाददातासाउन २३ काठमाडौं
५८४ पटक
साउन २३ काठमाडौं

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुको चाहना विभाजन नभई एकता भएको बताएका छन । आफू पक्षीय केन्द्रीय कमिटीको काठमाडौंमा दुई दिनसम्म बसेको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफू एकताविरोधी नभएकाले सम्मानजनक एकताका लागि आफू सधैं तयार रहेको प्रष्ट पारे । नेता नेपालले अध्यक्ष ओलीले नै एकताको वातावरण बिगार्दै गएको आरोप लगाएका छन ।

नेता नेपालले अहिलेसम्म एकताका लागि भएका छलफल, राजनीतिक घटनाक्रम र आफ्नो अडानबारे केन्द्रीय सदस्यहरुलाई जानकारी गराउँदै केही विषयमा सहमति भएपनि केही विषय अझै मिल्न बाँकी रहेको बताएका थिए ।

बैठकमा नरम रुपमा प्रस्तुत भएका नेता नेपालले नेपालको कम्युनिस्ट आन्दोलन इतिहासमै सबैभन्दा संकटकमा रहेको र एमाले केन्द्रदेखि वडातहसम्म विभाजित अवस्थामा पुगेको जिकिर गरे ।

‘अहिले हामी इतिहासकै संकटपूर्ण अवस्थामा छौं, तर फेरि पनि नेकपा एमालेलाई एकतावद्ध बनाएर लैजाने हाम्रो चाहाना हो । हाम्रो चाहाना विभाजन होइन, एकता नै हो । तर, एकताका लागि वातावरण नबनी सकेको बताए ।

उनले एमाले एकताका लागि निर्णायक ढंगले प्रयत्नहरु गनुपर्ने भन्दै विघटित कार्यदलका नेताहरुलाई पनि एकता छिटो टुंगो लगाउन भनेको बताएका थिए ।

‘एकताको कुरा भइरहेको छ  । केन्द्रीय कमिटीका कमरेडहरुले व्यक्तिगत लाञ्छना लाग्ने,अभद्र र अमर्यादित ढंगले प्रस्तुत नहुन, अन्तवार्ता नदिन र नबोल्न म तपाईहरुलाई निर्देशन गर्छु’, नेताहरुलाई निर्देशन दिँदै नेता नेपालले भने, ‘कतिपय मान्छेहरुले अनेक ढंगले हामीमाथि गालीगलौज गरिरहेका छन् तर हाम्रो संस्कार त्यो होइन । हुन सक्दैन । हामी निर्णायक र सम्मानजनक एकता भनिरहेका छौं ।’

नेता नेपालको आशय ओलीसँग झुकेर, लत्रेर र अपमानपूर्वक एकता गर्न नसकिने रहेको एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए । ‘ओलीसँग झुकेर, लत्रेर र अपमानपुर्वक एकता गर्नुको अर्थ छैन भन्ने नै नेता नेपालको सम्बोधनकोे सार थियो र वास्तविकता पनि त्यही हो’, ती नेताको भनाइ  छ ।

माधव समूहका नेता तथा एमाले कार्यदलका संयोजकसमेत रहेका भीम रावलले कार्यदलमा भएको छलफल र १० बुँदे सहमतिबारे बैठकमा विस्तृतमा जानकारी गराएका थिए । रावलले १० बुँदे सहमति नै एकताको आधारबिन्दु हुन सक्ने भन्दै त्यसैका आधारमा अघि बढ्न सकिने दाबीसमेत गरेका थिए ।

बैठकमा धारणा राख्ने अधिकाँश केन्द्रीय सदस्यहरूले पनि सम्मानजनक एकतामा जोड दिएको दिएको केन्द्रीय सदस्य निरज आचार्यले बताए । ‘मिश्रित धारणा आएका छन् । धेरैले सम्मनजनक एकता भन्नुभएको छ भने केहीले अध्यक्ष केपी ओली पक्षले एकलौटी निर्णय गरेकाले आफूहरूले पनि कमिटी निर्माण गरेर जानुपर्छ भन्ने सुझाब दिनुभएको छ’, आचार्यको भनाइ छ ।

एमाले नेताहरुका अनुसार बैठकमा केन्द्रीय सदस्यहरुलाई आफ्नो धारणा राख्न ३ मिनेटको समय दिइएको थियो ।

शुक्रबार सकिएको माधव समूहको बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ । यसका लागि केपी ओली पक्षले साउनन २४ गते आइतबार बोलाएको केन्द्रीय कमिटीको बैठक स्थगित गर्नुपर्ने, सदस्यता नवीरकण अभियान रोक्नुपर्ने र वडा तथा गाउँ अधिवेशनका साथै विधान अधिवशेन पनि रोक्नुपर्ने माधव नेपाल पक्षले माग गरेको छ ।

त्यसैगरी बैठकले संसद पुनस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेको छ । १० बुँदे सहमतिपछि कार्यदलले एकताको पहल गरिरहेको भन्दै यसवीचमा एकअर्कामाथि गालीगलौचको भाषा प्रयोग नगर्न माधव समूहको बैठकले माग गरेको छ ।

एकताको पहलका लागि केन्द्रीय कमिटीले स्थायी कमिटीलाई म्यान्न्डेटसमेत दिएको छ ।  रातोपाटी

प्रतिकृया दिनुहोस्