News Portal

एमसीसी संशोधनसहित पास हुनुपर्छ : केपी ओली

फरकपोस्ट संवाददातासाउन २५ काठमाडौं
६८७ पटक
साउन २५ काठमाडौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधन गरेर पास गर्नुपर्ने बताएका छन् ।

उनले सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीबारे मौन बसेकोमा समेत प्रश्न उठाएका छन् । ‘तपाईंहरुकै पालामा सम्झौता गरेको होइन ? १६५ को कृत्रिम मतले विश्वासको मत लिएकै छ, पास गर्नु नि !’ सोमबार केन्द्रीय कमिटीको बैठकमा ओलीले भनेका छन्, ‘हामी त स्पष्ट छौं । हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव, बुद्धिजीवी र विज्ञहरुले दिएको सुझावका आधारमा जनताको भावनाअनुसार संशोधनसहित पास हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

एमसीसी सम्झौता संसदमा विचाराधीन छ । साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा एमसीसी सम्झौता यथास्थितिमै अनुमोदन गर्ने कि परिमार्जनसहित भन्ने विवाद भएको थियो । २०७४ फागुनदेखि ४१ महिना प्रधानमन्त्री भएका ओलीले एमसीसी सम्झौता संसदबाट पास गर्नुपर्नेमा जोड दिएका थिए ।

तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरुले विरोध गरेपछि नेकपाले पूर्वप्रधामन्त्री झलनाथ खनालको नेतृत्वमा कार्यदल नै बनाएको थियो । त्यो कार्यदलले एमसीसी सम्झौता परिर्माजन गरेर मात्र अनुमोदन गर्न सकिने राय दिएको थियो । तर तत्कालीन नेकपामा अध्यक्ष समेत रहेका ओली सम्झौता परिमार्जनका लागि पहल नगरेको नेताहरुको गुनासो थियो । तर सोमबार केन्द्रीय कमिटीको बैठकमा ओली स्वयंले परिमार्जन गरेर मात्र अनुमोदन हुनुपर्ने बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्