News Portal

केपी ओलीलाई घोडाबाट माओवादी केन्द्रले झारेको हो : प्रचण्ड

आगामी चुनावमा माओवादी प्रमुख पार्टी बन्न सक्छ

फरकपोस्ट संवाददातासाउन ३० काठमाडौं
७३९ पटक
साउन ३० काठमाडौं

विपक्षी गठबन्धन निर्माण गरेर केपी ओलीलाई घोडाबाट झार्ने काम माओवादी केन्द्रले गरेको प्रचण्डले दाबी गरेका छन । शनिबार काठमाडौंमा शुरु भएको केन्द्रीय कमिटीको बैठकमा समसामयिक परिस्थितिबारे ‘संक्षिप्त रिपोर्टिङ’ गर्ने क्रममा प्रचण्डले यसो बताएका हुन साथै प्रचण्डले , ‘आगामी निर्वाचनसम्म आउँदा माओवादी केन्द्र देशको प्रमुख शक्तिशाली पार्टी बन्ने सम्भावना बढेर आएको पनि दाबी गरे।

पछिल्ला राजनीतिक घटनाक्रममा माओवादीले राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको हुनाले चुनावमा प्रमुख शक्ति बन्ने राजनीतिक आधार तयार भएको प्रचण्डको विश्लेषण छ । तर, यसका लागि अब यो राजनीतिक पहललाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न बाँकी रहेको उनले बताएका छन् ।

बैठकलाई सम्वोधन गर्दै प्रचण्डले भने, ‘हाम्रो अस्तव्यस्त भएको संगठन नै हो । माओवादी नेतृत्वले राजनीतिक पहल आफ्नो हातमा लिएको छ, अब यसलाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न जरुरी छ । माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दाहरु उल्टिने र देश नै दुर्घटनामा पर्न सक्ने भन्दै परिवर्तनको रक्षा गर्ने, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने पहल माओवादी लिनुपर्ने प्रचण्डले जिकिर गरे ।

प्रचण्डले अगाडि भने, ‘संसद विघटनविरुद्ध माओवादी केन्द्रले नै लडेको कुरा जनताले बुझेको बताए । विरोधीहरु र विश्वले पनि बुझेको छ । अब यो पहललाई संगठनमा रुपान्तरण गर्नुपर्छ ।

यसबीचमा नेतृत्वबाट कमी कमजोरीहरू पनि भएको बताउँदै प्रचण्डले संघ र प्रदेश दुबैतिर माओवादी बलियो भएको बताए । उनले भने, ‘यसबीचमा हाम्रा कमी कमजोरी पनि भए । सहिद परिवार, घाइते. र पीडितहरुलाई प्रतिक्रियावादीहरुले हाम्रो विरुद्ध प्रयोग गर्न पनि खोजे । तर, घेरा तोड्दै हामी राजनीतिको केन्द्रमा रहन सफल भएका छौं । संघमा पनि राम्रै स्थितिमा छौं, तीनवटा प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्यो ।’

तर, बलियो भएका छौं भनेर ढुक्क भएर नबस्न प्रचण्डले आफ्ना नेता कार्यकर्ताहरूलाई आग्रह गरे । उनले बैठकमा भने,‘बलियो छ भनेर ढुक्क हुने स्थिति छैन । परिवर्तन उल्ट्याउन खोज्ने तत्वहरुले गठबन्धन तोड्ने र पुरानै सरकार ल्याउन खोजेका छन् । हाम्रो काँधमा अहिले पनि जिम्मेवारी छ  । प्रतिगमनलाई परास्त गर्ने र प्रतिगमनलाई रोक्ने भूमिकालाई अलिकति पनि घट्न दिनुहुँदैन ।’

प्रचण्डले अगाडि भने, ‘प्रतिगमनलाई रोक्ने यात्रा अघि बढाउनुछ ।  अभियान लिएर संगठन र जनमत निर्माण गर्ने काम गर्न जरुरी छ ।

प्रतिकृया दिनुहोस्