News Portal

जबर्जस्ती एमसीसी अगाडि बढाइए देश जल्ने नेकपा प्रवक्ता प्रकाण्डको चेतावनी

फरकपोस्ट संवाददाताभदौ २६ काठमाडौं
१०२२ पटक
भदौ २६ काठमाडौं

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको मुद्दा मुखरित भएर फेरि एकपटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको हो । पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले तीन/चार वर्षअघि एमसीसीलाई सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भएको बताए ।

प्रवक्ता विश्वकर्माले सरकारले एमसीसी जस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाए । सबै नेपाली नागरिकहरू यसविरुद्ध आन्दोलित भइरहेको बेलामा पनि दलालहरूले यसलाई पास गर्नुपर्ने भनिरहेको बताए । विभिन्न प्रपञ्च रचेर सरकारले एमसीसी पास गर्न लागेको भन्दै यो सम्झौता नेपाली जनता र नेपाल कम्युनिष्ट पार्टीलाई स्वीकार्य नहुने उनको भनाइ छ ।

सरकारले संसद बोलाएर एमसीसी तत्काल पास गर्ने योजना बनाइरहेकोले आफ्नो पार्टीले राष्ट्रिय र केन्द्रिकृत रूपमा नेतृत्व प्रदान गर्न एक हप्ते संघर्षको कार्यक्रम राखेको बताउँदै प्रवक्ता प्रकाण्डले भाद्र २८ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने बताए ।

प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार धेरै आन्तरिक शंकटबाट ग्रस्त भएपछि बनेको र यसको आयु ६ महिना वा एक वर्षको हो भन्ने कुनै ठेगान नरहेको बताए । उनले सरकारले राष्ट्रघाती एमसीसी पास गरेर कुनै मुर्खता नगरोस् भन्ने चाहेको बताए । देउवा सरकारले हाउसमा पेश गर्ने एमसीसी भन्ने योजना फिर्ता लिनुपर्ने बताए ।

प्रवक्ता प्रकाण्डले सरकारले मुर्खता नै गरिरहे देशमा आगो लाग्ने चेतावनी दिए । एमसीसी मुर्खता गरेर पनि पास गरे देश जल्ने र देशमा आन्दोलनको आगो लाग्ने बताउँदै प्रवक्ता प्रकाण्डले १० वर्ष युद्ध लडेका प्रचण्ड र राणाविरुद्धको आन्दोलनमा कांग्रेसले गर्नुपरेको बलिदानलाई सम्झन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए । उनले एमसीसी पास गरे आगामी संसदीय चुनाव खरानी भएर जनमत संग्रह हुने बताए ।

प्रतिकृया दिनुहोस्