News Portal

श्रमिक जनताको विजयलाई कसैले पनि रोक्न सक्नेछैन : विप्लव

फरकपोस्ट संवाददाताफागुन १ काठमाण्डाैं
१०६१ पटक
फागुन १ काठमाण्डाैं

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले श्रमिक जनताको विजयलाई कसैले पनि रोक्न नसक्ने बताएका छन् । २७ औँ जनयुद्ध दिवसका अवसरमा जनयुद्धप्रति गौरव प्रकट गर्दै  महान् सहिद–बेपत्ता योद्धाप्रति विशेष स्मरण, सम्मान, श्रद्धा व्यक्त गर्दै महासचिव विप्लवले घाइतेहरूप्रति सम्मान, आमश्रमिक जनता, महान् सहिद–बेपत्ता योद्धा परिवारजनहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।  विप्लवले श्रमिक जनता, पार्टी नेता–कार्यकर्ता र मित्रहरूमा विशेष शुभकामना प्रदान गरेका छन् ।

२७ औँ जनयुद्ध दिवसमा वक्तव्य जारी गर्दै महासचिव विप्लवले भनेका छन्, ‘महान् जनयुद्धको पहल भएको २७ वर्ष बितेको छ । यस जनयुद्ध दिवसको ऐतिहासिक अवसरमा जनयुद्धप्रति विशेष गौरव व्यक्त गर्न चाहन्छौँ । साथै महान् सहिद–बेपत्ता योद्धाप्रति विशेष स्मरण, सम्मान, श्रद्धा व्यक्त गर्न चाहन्छौँ । घाइतेहरूप्रति सम्मान व्यक्त गर्दछौँ । आमश्रमिक जनता, महान् सहिद–बेपत्ता योद्धा परिवारजनहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । श्रमिक जनता, पार्टी नेता–कार्यकर्ता, मित्रहरूमा विशेष शुभकामना आदानप्रदान गर्न चाहन्छौँ ।’

महासचिव विप्लवले जनयुद्धका उपलब्धि र पात्रहरूका सीमाका बारेमा चर्चा गर्दै वक्तव्यमा अगाडि भनेका छन्, ‘जनयुद्धले नेपाली राजनीतिमा अभूतपूर्व प्रभाव र परिवर्तन ल्यायो । श्रमिक जनताले आफ्नो मुक्ति र राष्ट्रिय स्वाधीनताका लागि गरेको ऐतिहासिक विद्रोहले पहिलोपटक जनताको सत्ता, जनताको सेना, जनताको न्यायालय, शिक्षा, स्वास्थ्य, अर्थसम्बन्धहरू निर्माण गर्न सफल भएको थियो । तर प्रचण्ड–बाबुरामलगायत नेताहरूको विचलनका कारण जनयुद्ध अपूर्णतामा टुङ्गियो । जनयुद्धको अपूर्णताका कारण नेपाली जनताको पूर्ण मुक्ति एवम् नयाँ जनवाद–वैज्ञानिक समाजवाद प्राप्तिको चाहना अधुरै रह्यो ।’

मुलुकको विद्यमान अवस्थाका बारेमा चर्चा गर्दै महासचिव विप्लवले भनेका छन्, ‘आज दलाल पुँजीवादी सत्ता र श्रमिक जनताबीचको सङ्घर्ष तीव्र बन्दै गएको छ । अनेकौँ राष्ट्रघात, जनघात, भ्रष्टाचारमा चुर्लुम्म डुब्दै दलाल पुँजीवादी सत्ता र संसद्वादी तत्वहरू सङ्कटग्रस्त बन्न पुगेका छन् तर संसद्वादी तत्वहरूको बुद्धि फिर्नुको सट्टा आफ्नो तुच्छ कुर्सीस्वार्थ पूरा गर्न एमसीसीजस्ता घोर राष्ट्रघाती सम्झौता लाद्न उद्यत छन् ।’

नेपाली जनताको चाहना, आवश्यकता र अवस्थाका बारेमा महासचिव विप्लवले वक्तव्यमा भनेका छन्, ‘हाम्रो पार्टीको सुस्पष्ट दृष्टिकोण छ– नेपाली श्रमिक जनताले आजको दलाल पुँजीवादी संसदीय व्यवस्थाको अग्रगामी एवम् क्रान्तिकारी विकल्प वैज्ञानिक समाजवाद चाहिरहेका छन् । त्यसका लागि असफल संसदीय व्यवस्थाको निरन्तरता होइन, जनमतसङ्ग्रहद्वारा राजनीतिक व्यवस्था छान्ने र चुन्ने अधिकार प्रदान गर्नुपर्छ । तर सरकार र संसद्वादी पार्टीहरू हाम्रो पार्टीसँग राज्यले गरेको ३ बुँदे सहमति पनि इमानदारीपूर्वक कार्यान्वयन गर्नुको सट्टा बेइमानी गरिरहेका छन् । सहमतिअनुसार इमानदारीपूर्वक बन्दी कमरेहरूलाई मुक्त गर्नु र नेता–कार्यकर्ताहरूमाथि लगाइएका झूट्टा मुद्दाहरू खारेज गर्नुको बदला अनेकौँ कानुनी बहाना देखाएर अल्झाउने गलत कार्य गरिरहेका छन् । हामी सरकारलाई ३ बुँदे सहमतिप्रति इमानदार बन्न विशेष जोड दिन चाहन्छौँ ।’

महासचिव विप्लवले वक्तव्यको अन्त्यमा भनेका छन्, ‘महान् जनयुद्धको गौरवलाई पकड्दै एकीकृत जनक्रान्तिलाई विजयतिर अगाडि बढाऔँ । जनताको मुक्ति, राष्ट्रको स्वाधीनताका पक्षमा उभिने र मिल्न सकिने सबै कम्युनिस्ट, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, वामपन्थी मित्रहरू एकताबद्ध बनौँ । दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको स्थानमा वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्यमा समर्पित बनौँ । श्रमिक जनताको विजयलाई कसैले पनि रोक्न सक्नेछैन ।’ २७ औँ जनयुद्ध दिवसको वक्तव्यको पूर्णपाठ….. राताेखवरबाट

प्रतिकृया दिनुहोस्