
इतिहासमै पहिलोपटक भएको लोक दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ पहिलो सिजनका विजेताले च्याम्पियन बनेको महिनाैं बितिसक्दा समेत पुरस्कार नपाएको गुनासो गरेका छन् । गत कात्तिकमासंचालन भएको ‘दोहोरी च्याम्पियन’ पहिलो सिजनको फाइनलमा गायक प्रकाश पराजुली र गायिका मीना बुढाथोकीले उपाधि जितेका थिए ।
उपाधिसहित उनीहरुले जितेको पुरस्कार २० लाख रुपैयाँ हो । तर विजेताले एक रुपैयाँ पनि नपाएको गायिका मीना बुढाथोकीले गुनासो गरेकी छन् । पुरस्कार रकमको पहिलो किस्ता नै नपाएको उनले बताइन् ।
‘च्याम्पियन भएको दिन खाली चेक पाएका थियौं । त्यस्तै विजेताले पाउनुपर्ने नाट्यश्वेरी शिल्ड पायौं । त्यो बाहेक केही पाएका छैनौं,’ उनले भनिन्, ‘पुरस्कार रकमको पहिलो किस्ता दिनुपर्ने त उहिल्यै हो । तर एक हप्तापछि, दुई-चार दिनपछि भन्दाभन्दै ढिला भयो ।’
लामो समयसम्म पुरस्कार रकम नपाएको कारणले मीनाले फेसबुकमा ‘हेल्लो दोहोरी च्याम्पियन’ भन्दै स्टाटस लेखेकी छिन ।