News Portal

राजनीतिबाट बीभत्स ‘युवाहरुका सपना’

हरिप्रसाद भण्डारी
१२९७ पटक

बसाइँ सरेर हिँडनेको ताँतीले वस्नेको मन रुवाउदछ ।
लाखौको लागि उजाड छ यो देश, मुठ्ठी भरलाई त स्वर्ग छ ।

छोरा र छोरीको आँसु देख्दा छाति पोलेर आउँदछ
साहुको ऋण संझदा मनमा डढेलो लाग्दछ
बसाइँ सरेर हिड्नेको ताँतीले……

जे.वी. टुहुरेले आफ्नो जिवनको उत्तराद्र्ध सम्म गुञ्जाईरहने आमजनता र युवाहरुको वास्तविक हालतको शव्द संयोजन हो यो । आजपनि लाखौँका लागि उजाड छ यो देश मुठ्ठी भरलाई त स्वर्ग छ ।
निशुल्क स्वास्थ्य, सुरक्षित र सम्मानित रोजगारी, व्याक्तिगत,पारिवारीक,आर्थिक, सामाजिकतथा सांस्कृतिक सुरक्षाको सुनिस्चितता, नि:शुल्क शिक्षा,भौतिक पुर्वाधार तथा मानव विकास, संविधानप्रदत्त र अन्तराष्टिय मानव अधिकारहरुको सुनिश्‍चितता । वस्, यो नै आज एक युवाले देख्ने सवैभन्दा ठुलो सपना हो । अर्थात देशमै सुरक्षित र सम्मानित रोजगारी मिलोस, दिनभर पसिना बगाएपछी साँझ परिवारसंगै एकछाक खाएर सुत्नपाईयोस, सुत्नेवेला छोरी बलात्कृत हुने, आमा उपचार नपाएर मर्नु पर्ने, श्रिमती मन्दिर जाँदा कुटिनुपर्ने, छोरा पढ्ने पैसा नभएर खाडी पस्नुपर्ने अनि वुढेसकालमा भोकमरीले मर्नुपर्ने वा प्रौढमा आफ्नो भुमीवाट खेदिनुपर्ने त्रासले अनिद्रा नहोस् । तर, सवथोक उल्टो भईरहेको छ । युवाहरु खाडिमा काँध खुल्काईरहेका छन्, छोरीहरु विद्यालयवाट फर्किदा बलात्कृत भईरहेका छन, हजुरआमाहरु खोकि लागेर उपचार नपाएर मरिरहेका छन्, मनको आस्था र हातको कर्मका आधारमा विभेदपुर्ण जीवन बिताउनु परेको छ, खाडीमा युवाले पसिना बगाएको पारिश्रमिक शैक्षिक दलालहरुले लुटिरहेका छन्, पुखौँदेखि आदिवासीहरुले नङग्रा खियाएको भुमि माफियाहरुको कव्जामा छन् । युवाहरु संग ‘हामिविर गोर्खाली’भन्ने ईतिहास देखी गर्व गरिएको वाक्य वाहेक केही छैन । सवथोक खोसिएर पनि यो मुलुकको गौरव, नेपाली हुनुको गर्व, राष्ट र माटो प्रतिको प्रेम र राष्टियता एवं स्वाभिमानमा छिसिक्कै कमि आउनदिएको छैन ।

यो देशका धेरै भिआईपी र भिभिआईपिहरुको कोटको एउटा खल्तिमा नेपाली नागरिकता र अर्को खल्तिमा पि.आर. वा ग्रीनकार्ड छ । कैयौँका नाममा नेपालमा सुन्य सम्पत्ती भएर छोराछोरी र श्रीमतीका नाममा युरोप र अमेरीकाका ठुला सहरमा गगन चुम्मिवंगलाहरु छन् । उनिहरुको भान्छामा जुम्लाको मार्सी, रोल्पाको सिस्नु, दाङको वधिया, पुर्वको कड्कनाथ र सोलुखुम्वुको घ्यु हरेक दिन पुग्छ । सामान्यअस्वस्थ हुँदा विश्वका सवैभन्दा सुविधासम्पन्न महँगा अस्पत्तालको पहुँच छ । यत्रो खाडल र अन्तरालका विच आज युवाहरुले आशा, विश्‍वास भरोसा गर्न छोडिसकेका छैनन्ः मुलुकमा हाम्रो लोकतन्त्र छ, हाम्रो पार्टी छ, हाम्रो सपना छ र सन्निकट उदाउदै गरेको समृद्धी छ । यि सव सपना मनमा सजाएर खाडीमा जलिरहेको युवाको शरीर जब शव हुन्छ, ६ महिना लगाएर वाकसमा सन्तानको शव फर्काउँन त्यहि वर्गसंग हात जोडनु नै अन्तिम विकल्प रोज्ने अभिभावक देख्दा एउटा बालकले सोच्छःअव त केही होला ! साँच्चि, विद्रोहको ज्वालामुखीको टुप्पोमाआजपनी आशाको दियो वलिरहेको छ । युवाहरु मैनवत्ति जस्तो खाडीमा जलेर यो देशमाआशाको दियो बालिरहेका छन् । विदेशिएका युवाहरुले पठाएको रेमिट्यान्स र वैदेशिक ऋणले मुलुक धानिएको छ । मानौ देश उनिहरुले चलाईरहेका छन् । तर, चुनावहरु आउँछन जान्छन् रेमिट्यान्सले देश चलाईरहेका उनिहरुको मत गणना हुनेत परै जावस उनिहरु के सोच्छन भनेर समेत सोचिन्न । स्वदेशमै केही गरौँ भन्ने युवाहरुका लागि न आशाको वातावरण छ न भविश्यको सुनिस्चितता । हरेक दिन युवाहरुको टाउकोमा राष्टियऋण थुप्रिदैछ । विश्वका धेरै देशहरुले नागरिकलाई उपलव्ध गराउने मुल्य भन्दा कैयौँ गुणा महँगो मुल्यमा दैनिक जिवनयापन गर्नु परेको छ ।

नागरिकलाई संविधानले अधिकार दिएका धाराहरु कहिल्यै हेरिएन । सरकार वनाउने, ढाल्ने, नयाँ वनाउने, विश्वासको मत, अविश्वासको प्रस्ताव, महाअभियोग जस्ता फगत राजनीतिक फण्डाहरुमाथि रटान लगाईयो, पटकपटक प्रयोग गरियो । तर, आधारभुत स्वास्थ्य, शिक्षा, युवाहरुको रोजगारी, शान्ति सुरक्षा, उत्पादन तथा उद्यमशिलताका बारेमा न केही सोचियो न केही बाेलियाे । सत्ता, शक्ती र सरकारका फोहोरी खेलहरु जस्ले साधारण र आधारभुत वर्गलाई सकारात्मक हिसावले छुदैन त्यही विषयले राजनीति, सञ्चारमाध्यम, नागरिक समाजका संस्था र संगठनहरुमा प्राथमिकता पाईरह्यो । सरकार ढाल्न र चुनाव जित्नवाहेक आमजनताका एजेण्डाहरु कहिल्यै प्राथमिकतामा परेनन् । सडकमा नारा लगाउँदाआमजनताका एजेण्डाहरु डकार्ने र सत्तामा पुगेपछी सत्ता स्वार्थको निम्ति जस्तासुकै हर्कतहरु पनि गर्ने भद्धा दलाली र वेईमानीले आजको व्यवस्थामाथिनै निराशा उत्पन्न भईरहेको छ ।

सत्ता जोगाउन रातारात मन्त्रालय फुटाएर अर्वौ खर्च वढाईन्छ, आवश्यकनै नभएको दरवन्दि श्रृजना गरेर घर वस्ने कार्यकर्तालाई राज्यकोषको रकम बाडिन्छ, आफुलाई जस् नमिल्ने भएपछी राष्ट्रवाद भएपनी चुँ वोलिन्न । आधारभुत वर्गले अहिलेपनी आफ्नो व्यवस्थाको अनुभुती गर्न पाएको छैन । विश्वको कैयौँ मरुभुमीले घेरीएका गरिव देशहरुले यो ५०–६० वर्षको विचमा आफ्नै देशको जनशक्ती, प्राकृतिक सम्पदा, खनिज र योजनाको प्रयोग गरेर महाशक्ती राष्टहरुलाई चुनौती दिने भईसकेका छन् । गरिव भनिएका कैयौँ मुलुकहरुमा महाशक्ती राष्टका नागरिकले रोजगारी खोज्ने लहर चलेको छ । अवको ५, १० र ५० वर्षमा संसारको अवस्था, आवश्यकता र संभावित चुनौतीहरुको विश्लेषण गरेर नयाँखोज र आविश्कार गरिरहेका छन् ताकिःत्यतिवेला समेत विश्ववजार र अर्थतन्त्रमापछि पर्नु नपरोस । उनिहरुले आजको विश्ववजार, जिवनशैली, विश्वव्यापीनीति र आमलगानीको विश्लेशण गरेर दशकौँ पछिका योजनावनाईरहेका छन् । सरकार परिवर्तन भएपनी मूलभुत राष्टियनिती, अर्थतन्त्रका रणनितीक दृष्टिकोण र योजनाहरु, संवैधानिकआयोग र निगमका योजना एवं जनशक्ती र योजनाहरुमा ठुलो वदलाव ल्याईदैन । तर, हाम्रो मुलुकमा यो ५०–६० को दशकमा केवल वाद, व्यवस्था र सत्ता परिवर्तनका खेलखण्डहरु मात्र चलिरहे । कैयौँ आन्दोलन र जनधनको क्षेती भयो । प्राय अनुहार पुरानै भएपनी व्यवस्थाका नाम र संरचनाहरु बदलिए । तर, विवशता हाम्रो मुलुकमा कति समयका लागी के विधिवाट कुर्सी र सत्ताको खेल लम्व्याउने भन्ने बाहेक योजनाहरु वन्दैनन् ।

महँगीले सिमाना घिसकेको छ । वेरोजगारीको समस्या  व्याप्त छ । आधारभुत र विपन्नवर्गको दैनिकी कठिन र कष्टपुर्ण छ । साधारण जीवनयापनको निम्ती आजमुलुकका युवाहरु जस्तोसुकै जोखिम मोल्न वाध्यछन् । शिक्षामा व्यापक दलालिकरण र असमानता छ । दुर्गमका कैयौँ जनता आज पनीआधारभुत स्वास्थ्य सेवाको पहुँचमा छैनन् । शैक्षिक जनशक्ती मुलुकवाट पलायन भईरहेको छ । प्राकृतीक श्रोत साधन, खनिज तथा नदिनालाहरु शक्तीकेन्द्र र वैदेशिकमुलुकको कव्जामाछन् । शान्ति सुरक्षा चुनौतीपुर्ण अवस्थामा छ । न्यायालयमा खुलमखुल्ला पैसाको वार्गेनिङ चल्छ । आफ्नाहरुको मलजल र कमिसनको खेल चल्ने ठाउँमा वजेटको ओईरो लाग्छ तर, त्यसो नहुने ठाउँमा विकासको खडेरी लाग्छ । हरेक चुनावहरुमा युवाहरुका मन स्वर्णिम सपनाले सजाईन्छन् । तर, तिनै सपनाहरु चुनावपछी बलात्कृत हुन्छन सपना देखाउनेहरु वाटै । आजका युवाहरुमा राजनीतिवाट देखाईएका सपनाहरु राजनीतिवाटै बलात्कृत भएका छन् । राजनीतिका प्रतिवद्धताहरु फगत झुट, वेईमानी र धोकाघडी बनिरहेका छन् । राजनीतिमा आफ्ना आश्वासन र प्रतिवद्धतामाथिको उत्तरदायित्व र जवाफदेहिता शुन्य छ ।

हाम्रा शासकहरुलाई कुर्सी र सत्ताको फोहोरी खेल बाहेक जनताका एजेण्डाहरुले छुदैन । जनताका आवाजहरु सुन्न र वोल्नका लागि कि चुनाव आउनुपर्छ कित सत्ता वदल्ने सिक्वेन्स चलाउने उपयुक्त समय भएको हुनुपर्छ । यो निकै ठुलो विडम्वना हो । हरेक व्यवस्था परिवर्तनका आन्दोलनहरुले केहीको वर्गउत्थान त भयो तर, आमजनताको दैनिकिमा महसुस गराउन पहल भएन । युवाहरुलाई सपना देखाउने र ति सपनाहरुलाई वेवारिसे वनाउने र वीभत्स हत्या गर्ने निर्मम शोषणको निरन्तरता रहिरह्यो भने यसले निकै ठुलो विद्रोह जन्माउन सक्छ । युवाहरुका निम्ती उजाड र अवसरविहिन देशमा समृद्धी आउन सक्तैन । नागरिकका आधारभुत आवश्यकता पुरा गर्न नसक्ने व्यवस्था जनताको व्यवस्था हुन सक्तैन । हरेक नागरिकले सुरक्षित महसुस गर्न नसक्ने देशमा लोकतन्त्र हुन सक्तैन । भोक र रोग विरुद्धको सुनिश्‍चतता दिन नसक्ने शासकहरुले समाजवादमा हैन असल पुँजिवादमा समेत पुर्यान सक्तैनन् । यसर्थ यो अवस्था तत्कालै बदल्न जरुरी छ । राजनीतिकर्मीहरु सार्वजनिक व्यक्ती हुन । यसर्थ राजनीतिक दल र नेताको अभिव्यक्ती पनि सार्वजनीक सवाल हो । हरेक राजनीतिक प्रतिवद्धताहरु आमजनता र जनताप्रतिको दायित्वको रुपमा बुझेर राजनीतिक घोषणा र प्रतिवद्धतामाथिको उत्तरदायित्व र जवाफदेहिता सुनिश्‍चितता गरिनुपर्छ ।

प्रतिकृया दिनुहोस्