News Portal

‘समन्वय’ विलयको हल्ला र कम्युनिस्ट आन्दोलनको भविष्य

राम बहादुर बुढाचैत ८ काठमाण्डाैं
९५० पटक
चैत ८ काठमाण्डाैं

नेकपा (मसाल) बाट अवैधानिक ढंगले अन्यायपूर्ण एवम् षडयन्त्रपूर्ण तरिकाले कार्बाही गरिएका ब्यक्तिहरु र मसालभित्रका क्रान्तिकारी विचारको रक्षाका पक्षमा उभिएका ब्यक्तिहरुले नेकपा (मसाल) समन्वय समिति बनाएका छन् । गत माघ १५ गते वैधानिक मोर्चाको समन्वय समिति पनि घोषणा भएको छ । मसालको नेतृत्व तहले आठौं महाधिवेशन भन्दा धेरै पहिलेदेखि नै पार्टीभित्रका फरक मत राख्नेहरु अन्य पार्टीमा बिलय होउन् वा समाप्त भएर जाउन भन्ने कामना गरिरहे । ०७२ सालमा पार्टी सरकारमा जाँदा फरक मत राखे यताको हिसाब गर्दा साढे छ वर्ष भएछ । त्यस बेलादेखि लगातार मसाल नेतृत्वबाट फरक मत राख्नेहरुलाई आजै पार्टी छाडेर जान्छन्, भोलि नै पार्टी छाडेर जान्छन भनियो । आठौं महाधिवेशन यताको हिसाब गर्दा झण्डै तीन वर्ष भएछ । महाधिवेशन पछि पनि जान्छन् जान्छन भनेर बेस्सरी प्रचार गरियो । दुःखको कुरा ! अर्को पार्टीमा अझै गएनन् । यति लामो समयसम्म हल्ला गर्दा पनि नगए पछि अझै पनि जान्छन जान्छन भन्न छाडिएको छैन । अर्को पार्टीमा जान्छन कि के गर्छन भन्ने कुरा कसैले कामना गरेर नहुँदो रहेछ । जाने, बस्ने, योजना बनाएर हिड्ने कुरा सम्बन्धित पक्ष नै निर्णायक हुँदो रहेछ । दुःखद कुरा ! उहाँहरुका कामना पूरा भएन । उहाँहरुले सोचे जस्तो समाप्त भएर जाने छाँट पनि छैन । केही हप्ता पहिले अल्पमतको विचार राख्नेहरु दुई÷चार महिनामा नै समाप्त हुने भविस्यवाणी सुनिएको थियो । भर्खरै फेरि समाप्तीको आयु जम्मा एक डेढ बर्ष तोकिएको रहेछ । तर समन्वय समिति सोच्दै, विचार गर्दै, सम्हालिदै, उत्तेजना र भावावेश भन्दा पनि वस्तुगत यथार्थता माथि टेक्दै अगाडि बढ्दैछ ।

मसालले आफ्नो क्रान्तिकारी चरित्र गुमाउनु हुन्न भन्ने मत राख्नेहरुलाई मसाल छाडेर भागेको अर्थ लगाउने गरेको सुनिन्छ । प्रतिक्रियावादी सत्ताका विरुद्ध इतर शक्तिको भूमिका खेल्ने मसालको उद्देश्य र चरित्र हुनु पर्ने हैन र ? यस्तो प्रतित हुन्छ– मसालका मुख्य सन्चालकहरु मसाल छाडेर पत्ताचुर (तीब्र बेगले) पछि फर्केर हेर्दै नहेरी दौडिरहेका छन् तर हामीले नभाग्नुस् भनेर रोक्न खोजिरहेका छौं । तर उनीहरु भागिरहेकाछन । अरुलाई भागेको आरोप लगाउनेहरु आफै मसाल छाडेर भागिरहेको देखिन्छ । अपना– अपना नजरिया ! जसले मसाललाई मसाल जस्तै राखौं भन्छ ऊ मसाल छाडेको हुने र जसले मसालको सिद्धान्त, राजनीति, चरित्र सबै त्याग्दै गएको छ ऊ चाहिँ नभागेको, सही सलामत ! यस्तो उल्टो पनि हुन्छ र ?
बुर्जुवा ब्यबस्थाभित्रको चुनावी प्रतिस्पर्धा, विजय, सत्ता, भत्ता पनि सबै थोक रहेनछ भन्ने कुरा ब्यबहारले प्रष्ट पारेको छ । कम्युनिस्ट दृष्टिकोण, मूल्य– मान्यता, संस्कृति समाप्त हुँदै गयो भने जतिसुकै ठूलो पार्टी भए पनि त्यो अर्थहीन हुँदो रहेछ । नेपालमा कम्युनिस्ट नाम गरेका शक्तिहरु धेरै पटक सरकारमा गए । झण्डै दुई तिहाईको बहुमतको सरकार पनि बनाए । के तिनले नेपालमा राष्ट्रिय पुँजीको विकास र राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि केही गरे ? सरकारको तर्फबाट एउटा पनि उद्योग खोलेनन, बरु विदेशी पुँजीपति जम्मा गरेर आउ नेपाललाई लुट भनेर तिनका अन्तर्राष्ट्रिय सम्मेलन गर्ने काम गरियो । नेपाललाई परनिर्भर बनाउँदै लगिएको छ । हरेक नेपालीको टाउकोमा ६० हजार विदेशी रिण झुण्डिएको छ । शिक्षा र स्वास्थ्य जस्ता सार्वजनिक महत्वका चिजलाई सर्वसुलभ बनाउन र जन पहुँच बनाउने तिर ध्यान दिइएन बरु शैक्षिक माफिया र स्वास्थ्य मफियाको लुटकेन्द्र बनेका छन शिक्षा र स्वास्थ्य क्षेत्र ।

द्वन्द्वात्मक भौतिकवादको कुरा गर्छ तर ब्यबहारमा अध्यात्मवादलाई अङ्गाली अन्धबिश्वास, पुजापाठ तिर हराईरहेको हुन्छ । कम्युनिस्ट भन्छ तर ठगी धन्दा र लुटमा लिप्त छ । सत्ता स्वार्थका लागि जुन सुकै नीच हर्कत गर्न तयार हुन्छ । प्रगतिशील संस्कार, संस्कृति निर्माणको विषय हराउँदै गएको छ । यसरी कम्युनिस्ट आन्दोलनको मूल्य विघटन हुँदै गैरहेको छ । वर्ग प्रेम, वर्ग घृणा, वर्गीय एकता , श्रमको सम्मान, श्रमको उचित मूल्यको लागि संघर्ष, सबै खाले शोषणका विरुद्ध संघर्ष, न्याय र समानताका लागि निरन्तर संघर्ष – यी मूल्यहरुको संरक्षण र विकास तिर ध्यान दिनु अहिलेको कम्युनिस्ट आन्दोलनको मुख्य दायित्व हो । वुर्जुवा चुनाव जनसम्बन्ध निर्माणको माध्यम होला तर जोसित मिलेर जसरी भए पनि चुनाव जित्ने, चुनाव जितेर ठेक्का पट्टामा सहभागी, ठेकेदारहरुसित कमिसन, घुसको लेनदेन कर्मचारीहरुसित मिलेर अवैधानिक कार्यमा सङ्लग्नता यस्ता कार्यले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्दै लगेको छ । यी सबै विकृतिबाट आन्दोलनलाई कसरी जोगाउन सकिन्छ ?

मसाल नेतृत्वबाट अल्पमत पक्षका सम्बन्धमा अत्यन्त विरोधासपूर्ण कुरा गरिएको छ । एकातिर “प्रतिगमन उन्मुख” भन्ने गरिएको छ । अर्को तिर यिनीहरु र हामीमा केही फरक छैन पनि भनिएको छ । मसाल जस्तै हुनु, फरक नहुनु र “प्रतिगमन उन्मुख हुनु” एउटै कुरा हो र ? यो विरोधाभासपूर्ण कुरालाई घोत्लिएर हेरियो भने त्यहाँ केही पनि भेटिने छैन । मात्र पूर्वाग्रह र मिथ्या आरोप फेला पर्ने छ । चुनावको उपयोग र संघर्षको मुख्य स्वरुप जनसंघर्ष यी दुइटा कारणले अल्पमतसित बेग्लै कार्यनीति छैन पनि भन्ने गरिन्छ । यसको अर्थ चुनाव बहिष्कार र सशस्त्र संघर्षको कार्यनीति तत्कालै अपनाउनु पर्ने थियो । अल्पमत पक्ष त्यस्तो दुस्साहसवादी बन्न सकेन । चुनाव उपयोगलाई कम्युनिस्ट आन्दोलनलाई टेवा पुग्ने गरी उपयोग गरिनुको सट्टा प्रतिकृयावादी सत्तालाई टेवा पुग्ने गरी आफै उपयोग हुने काम भयो भन्ने अल्पमत पक्षले राख्दै आएको कुरा हो । संसद बाहिरको जन संघर्षलाई संघर्षको मुख्य पक्ष बनाउनुको सट्टा चुनाव र संसदीय कार्यकलाप वरपर मात्र पार्टीलाई केन्द्रित गर्नु गलत भयो भन्ने अल्पमतले राख्दै आएको कुरा हो । नेपालमा अहिले मूलतः तीन प्रकारको राजनैतिक धारहरु छन । एउटा, प्रतिगामी – प्रतिक्रियावादी धार, दोस्रो, कम्युनिस्टको नाममा प्रतिकृयावादी सत्ताको सेवा गर्ने धार र तेस्रो, प्रतिकृयावादी सत्ताको विकल्प खोज्ने राजनैतिक धार । निश्चय नै तेस्रो धार अहिले कमजोर छ । तर भविष्य उज्ज्वल छ ।

कम्युनिष्ट आन्दोलनको इतिहास नै विभाजन, गठन पुनर्गठनको लामो प्रक्रियाबाट अगाडि बढेको छ । रुसको बोल्सेभिक पार्टी विभिन्न समाजवादी समूहहरुको एकताबाट बनेको पार्टी थियो । चीनमा कम्युनिस्ट पार्टीमा चु ते ह नेतृत्वमा रहेको सशस्त्र समूह लगायतका विभिन्न समूहहरु मिसिन आएका थिए । नेपालको कम्युनिस्ट पार्टी कांग्रेसबाट असन्तुष्ट भै बाहिरिएकाहरुले गठन गरेको पार्टी हो । २०१९ को तेस्रो महाधिवेसन पछि नेपालको कम्युनिस्ट आन्दोलन छिन्न भिन्न भयो । २०३० को दशकमा एकातिर चौथो महाधिवेशन धार र अर्को तिर माले धारले ध्रुबिकरणको कार्यलाई अगाडि बढाए । मोरङको इटहरामा २०३५ मा २५ जना जम्मा भइ माले गठन गर्न पुग्दा त्यसमा करीब ५ समूह समाहित भएका थिए । चौथो महाधिवेशन धारमा पनि विभिन्न ब्यक्ति, समूहहरू मिसिएका थिए । २०४० र २०४२ मा चौथो महाधिवेशन÷मसाल धारमा बिभाजन, २०४७ सालमा एमाले र एकताकेन्द्रको गठन, २०४६ पछि तीन वटा रसियाली धारको बीचमा एकता भै नेकपा संयुक्तको गठन, २०५९ मा एकताकेन्द्र – मसालको निर्माण, २०६३ मा एकताकेन्द्र – मसालको तीन समूहमा बिभाजन, एकताकेन्द्र – मसालको एक समूहले अन्य पक्षलाई मिलाउँदै नेकपा एकीकृतको गठन र एकताकेन्द्र– मसालको अर्को पक्ष २०६५ मा माओवादी सित एकता, २०७४ मा एमाले र माओवादी केन्द्रको एकता भै नेकपा (नेकपा) गठन, एमाले र माओवादीकेन्द्रको पुनस्र्थापना, एमालेबाट एकीकृत समाजवादीको निर्माण – एकता र विभाजनको लामो श्रृङ्खला रहेको छ । यो कुनै लुकेको र लुकाउनु पर्ने कुरा हैन कि वर्तमान प्रतिकृयावादी राज्यसत्ताका विरुद्धमा उभिने राजनैतिक शक्ति, समूह ब्यक्तिहरुको बीचमा ध्रुवीकरणको प्रक्रियालाई अगाडि बढाउन जरुरी छ । ध्रुबीकरण भन्नाले अहिलेको अहिलै पार्टी एकता भन्ने अर्थमा पनि बुझ्नु हँुदैन । आधारभूत विषयहरुमा कुरा मिल्ने शक्तिहरुका बीचमा कम्युनिस्ट आन्दोलनको आगामी कार्यदिशा, संघर्षको स्वरुप, सैद्धान्तिक, राजनीतिक विषयमा ब्यापक छलफललाई अगाडि बढाउनु पर्दछ । सहकार्य, कार्यगत एकता, संयुक्त मोर्चा जे सम्भव छ त्यसलाई अगाडि बढाउन जरुरी छ । अवसरवादी शक्तिहरुले आफ्नो आवसरवादी उद्देश्यलाई केन्द्रमा राखेर पार्टी एकता गरेका हुन्न्छन् । स्वार्थमा कुरा नमिले पछि फुटेका हुन्छन् । आवश्यकता अनुसार क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर क्रान्तिकारी शक्तिहरुको बीचमा पार्टी एकता पनि गर्नु पर्ने हुन्छ । हचुवाको भरमा, कुनै क्षणिक लाभ वा अवसरवादी उद्देश्यलाई ध्यान दिएर एकता गर्नु हुँदैन । वर्तमान प्रतिकृयावादी सत्ताको विकल्पमा शोषित वर्गको सत्ता स्थापनाको उद्देश्य राख्ने धारलाई बलियो बनाउन के गरेर सम्भब छ । हामी त्यस प्रति ध्यान दिनु पर्दछ ।

कतिपय ब्यक्तिहरुले विचार छाडेर गएका घटनालाई तिललाई पहाड बनाएको देखिन्छ । हरेक कालखण्डमा यस्ता ब्यक्ति, समूह आन्दोलनमा जन्मिरहन्छन् । कम्युनिस्ट आन्दोलन कमजोर भएका बेला झन यस्तो सम्भाबना बढी हुन्छ । फूटबलको विश्वकप सुरु भयो भने जताततै मानिसहरु फूटबलको ड्रेस लगाउँछन । राती अनिंदो बसेर भए पनि टि. भि. मा गेम हेर्छन । विश्व कप सकिए पछि गेमको हल्ला समाजमा न्यून हुदँै जान्छ । पंचायतको ह्वीम आयो धेरै तेता दौडिए । समाजमा अनेकौ हल्ला र ह्वीम आइरहन्छन् । जस्तो सुकै अप्ठ्यारो परिस्थितिमा पनि परिवर्तन प्रतिको आस्था, निष्ठाप्रति प्रतिबद्ध हुनु सब भन्दा ठूलो कुरा हो ।

प्रतिकृया दिनुहोस्