News Portal

गुल्मीबाट बुटवलतर्फ जादै गरेको बस दुर्घटना, ६ जनाको मृत्यु

फरकपोस्ट संवाददातासाउन ८ काठमाडौं
६०६ पटक
साउन ८ काठमाडौं

गुल्मीबाट बुटवलतर्फ जादै गरेको बस पाल्पाको लघुवामा दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा सडकबाट तल खसेको हो ।

‘म पनि घटनास्थल पुग्नै लागेको छु,’ उनले भने, ‘बस सडकबाट ३ सय मिटर तल खसेको छ, केहीको मृत्यु भएको आशंका छ, धेरै घाइते छन् ।’

प्रहरी र स्थानीयले उद्धार गरिरहेको उनले बताए । घटनास्थलमा पाल्पाको अर्गली र हार्थोक प्रहरी चौकीबाट प्रहरी पुगेको छ ।

यता घटनास्थलमा रहेका रिब्दिकोट गाउँपालिका-२ का वडाध्यक्ष ओमप्रसाद पोखरेलका अनुसार अहिलेसम्म ६ जनाको शव फेला परेको छ। ‘१७ जना घाइतेलाई उद्धार गरी तानसेन पठाएका छौं। गाडीभित्र अरू कति यात्रु छन् भन्ने हेर्दैछौं,’ उनले भने।

घटनास्थलमा रहेका घाइतेका अनुसार अर्को बसलाई साइड दिने क्रममा बस दुर्घटनामा परेको थियो । बस गुल्मीको मजुवाबाट बुटवल आउँदै थियो ।

उक्त ठाउँ नजिक यसअघि मलामी सवार बस दुर्घटना भएको थियो । गत पुस १८ गते भएको दुर्घटनामा ७ जनाले ज्यान गुमाएका थिए ।

प्रतिकृया दिनुहोस्