News Portal

सरकारले तीन बुँदे सहमति लागू नगरे संघर्षको बाटो अपनाउने नेकपाकाे‍ चेतावनी

फरकपोस्ट संवाददातासाउन २५ काठमाण्डाैं
११४८ पटक
साउन २५ काठमाण्डाैं

विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय समिति विशेष बैठक सम्पन्न भएको छ । पार्टीका नेताहरुमाथि सरकारकाे पक्राउ पुर्जी आदेश  र आगामी संसदीय निर्वाचन घोषणा गरेसँगै पार्टीकाे बैठक बसेकाे हाे ।

पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा  साउन २२ गतेदेखि २४ गतेसम्म बसेको बैठकले परिस्थितिको विश्लेषणसहित आगामी नीति र योजना समेत तय गरेको छ । बैठकले तीन बुँदे सहमति नेपाल कम्युनिष्ट पार्टीले इमान्दारीपूर्वक लागु गरिरहेकाे स्थितिमा महासचिव विप्लव सहितका अन्य नेता कार्यकर्ताहरुमाथि भएको पक्राउ पुर्जी आदेशकोको तीव्र भत्सर्ना गरेको छ ।

सरकारले तीन बुँदे सहमति बमोजिम सम्पूर्ण मुद्दाहरु खारेजी गरी बन्दी नेता कार्यकर्ताहरुलाई रिहा गर्नुको साटो उल्टै शिर्ष नेतृत्वलाई नै पक्राउ पुर्जी आदेश जारी गर्नुमा सरकारको षडयन्त्र र बदनियतपूर्ण नियत रहेको निष्कर्ष निकालेको छ ।

तीज दिनसम्म चलेकाे बैठकले दुई नीतिकाे स्पष्ट गरेको छ । पहिलो : आफ्नो पार्टी तीन बुँदे सहमतिप्रति इमान्दार प्रतिबद्ध  भएको अवस्थामा सरकारले सो सहमति पूर्ण रुपले लागू गर्नुपर्ने, सहमति अनुसार तुरुन्त सम्पुर्ण मुद्दाहरु खारेज गरी सबै बन्दीहरु रिहा गर्नुपर्ने ।

त्यसका लागि आफ्नो पार्टी सरकारसँग आवश्यक संवादका लागि तयार रहने र सबै राजनीतिक पार्टी र शक्तिहरुसँग परामर्श गर्ने । दोस्रो : यदि सरकार तीन बुँदे सहमति लागू नगर्ने हो भने जनसंघर्षमार्फत प्रतिवाद गर्ने र संघर्षको बाटो अपनाउने ।

बैठकले पक्राउ पुर्जी आदेशको विरुद्ध संसदमा आवाज उठाउने सबै साँसदहरु, विरोध व्यक्त गर्ने राजनीतिक पार्टी तथा नेतृत्वहरु, नागरिक अगुवा लगायत सबैलाई धन्यवाद व्यक्त गरेको छ ।
नेकपाले परिस्थिति र सरकारको रबैया, नीति र व्यवहारको आधारमा सबै किसिमका विकल्पबारे सोच्ने मनस्थिति बनाएकोे बुझिएकाे छ ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार “हामी शान्तिपूर्ण तरिकाले आफ्ना कार्यक्रम गर्दा पनि सरकारले हामीलाई लखेट्नै खोजेको हो भने हामीले पनि बाध्य भएर सोच्नै पर्छ । यस विषयमा सरकारले आफ्नो धारणा स्पष्ट गरोस् अनि हामी पनि सोच्छौं ।” आगामी निर्वाचन बारे पार्टींको धारणाबारे अर्का केन्द्रीय सदस्यले भने,—“हामीले चुनावबारे सकरात्मक रुपले सोच्दै थियौं तर सरकारी वारेन्ट टाउकोमा बोकेर कसरी चुनावमा जाने ? पहिले सरकारले हाम्रो पार्टी र तीन बुँदे सहमतिप्रति कस्तो रबैया अपनाउँछ, त्यही अनुसार हाम्रो नीति हुन्छ, देशलाई जबरजस्ती युद्धमा धकेलेर आनन्दले चुनाव गर्ने सपना कसैले नदेखे हुन्छ  उनले भने।”

नेकपाका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग इन्चार्ज प्रज्वलनले विशेष बैठक विशेष परिस्थितिमा सम्पन्न भएको, बैठकमा नेताहरुमाथिको पक्राउ पुर्जी आदेश र आगामी निर्वाचन, पार्टीको नवौं महाधिवेशनको तयारी, बन्दी रिहाई, महंगी भ्रष्टाचार, जनजीविकाका सवालमा आन्दोलन लगायतका विषयमा गम्भीर छलफल भएको बताए । उनले आगामी महाधिवेशनका लागि विधान र राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिदै पार्टीका सबै निकायको सम्मेलनमा अध्ययन र सुझावका लागि प्रस्तुत हुने जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस्