News Portal

आज दर खाने दिन, औपचारिकरूपमा तीज पर्व सुरु

फरकपोस्ट संवाददाताभदौ १३ काठमाडौं
४२८ पटक
भदौ १३ काठमाडौं

आज हरितालिका तीजको अघिल्लो दिन । आज बेलुका घरघरमा दर खाने सांस्कृतिक प्रचलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व विधिवत् रुपमा सुरु भएको छ ।

आजको दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका विभिन्न मिष्ठान्न परिकारहरु खाने गरिन्छ ।

तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरुले शक्ति प्राप्तिका लागि शक्तियुक्त परिकार दरका रुपमा खाइ भोलिको व्रतका लागि पूर्व तयारी गर्छन् । महिलाहरुले तीज पर्व नारी संवेदना संग जोडिएकाले वर्षदिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई गीतको माध्यमबाट दिदीबहिनी भेला भएर छर्लङ्ग पार्ने गर्छन् ।

जन्मघर छोडेर कर्मघरमा गरिखादाको  दुःख, पिर, मर्कालाई नारीले तीजमा पोख्ने गरेका छन् ।

पछिल्ला वर्षहरुमा तीजका नाममा तडकभडक बढेको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवम् महंगा पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीज पर्व भित्र रहेको पवित्र संस्कृतिको मर्मलाई कुल्चेर विकृतिका रुपमा लैजान खोजेको  समाजशास्त्री कीर्तिकुमार राई बताउनुहुन्छ । यस्ता प्रकारका गतिविधिले हुनेलाई प्रफुल्ल बनाएपनि नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवम् समाजशास्त्रीहरुले जोड दिदै आइरहेका छन् ।

आज दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म भव्य रुपमा मनाइन्छ । भोलि तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन पर्सि गणेश भगवानकाे पूजा र पञ्चमीका दिन १६ गते स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

प्रतिकृया दिनुहोस्