News Portal

रवि लामिछानेको राहदानी मुद्दामा आज सुनुवाइ हुदै

फरकपोस्ट संवाददाताचैत २१ काठमाडौं
२७७ पटक
चैत २१ काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दाको सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ ।

लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनेर महान्यायाधिवक्ता दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै सोमबार रिट निवेदन दायर भएको थियो ।

अधिवक्ता युवराज पौडेल ‘सफल’ ले लामिछानेविरुद्ध दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको भन्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ ।

यसअघि नै लामिछानेले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै सर्वोच्चले नेपाली नागरिकता नभएको फैसला सुनाएको थियो ।

उक्त फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो।
त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता लिइसकेका छन् ।

महान्यायाधिवक्ता पोखरेलले लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय यही चैत ६ गते गरेका थिए । त्यस दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए भने रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत पनि दिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको बताइएको थियो ।

उक्त निर्णय बदर गर्न माग गर्दै रिट निवेदन परेपछि आज सुनुवाइ गर्न लागिएको हो।

प्रतिकृया दिनुहोस्