
सुनसरीको बराहक्षेत्रमा गोली चलाएको छ । शनिबार बेलुका करिब ८ बजे बराहक्षेत्र नगरपालिका–३ मा कालिन्द्र सामुदायिक बन क्षेत्रमा गाँजा कारोबारी नियन्त्रणमा लिनका लागि प्रहरीले ३ राउण्ड गोली चलाएको हो ।
गोली लागेर एक जना घाइते भएका छन् । प्रहरीले चलाएको गोली बराहक्षेत्र नगरपालिका – ३ का ५५ वर्षीय रामप्रसाद लिम्बू घाइते भएका हुन् । उनको दाहिने तिघ्रामा गोली लागेको बताइएको छ । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जानकारी दिएको छ ।
शंकास्पद बोरा बोकेर हिडिरहेकाहरुलाई प्रहरीले रोक्न खोज्दा लिम्बूले खुकुरी प्रहार गर्न खोजेका थिए । अन्य भने बोरा छाडेर भागेका थिए । खुकुरी प्रहार गर्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाएको सुनसरी प्रहरी प्रमुख सुमन तिम्सिनाले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रमुख तिम्सिनाले बताए ।