
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले लाखौँ जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘युवासँग राप्रपा कार्यक्रम’मा उनले भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण समेत दिदै यस्तै अभिव्यक्ति दिएका हुन् ।
भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनबाट हालको व्यवस्था हटाएरै छाड्नेमा आफूहरु विश्वस्त रहेकाे उनले ठाेकुवा गरे । “यो नाथे गणतन्त्र दुई दशक पुगेको छैन, शान्तिपूर्ण ढंगले नै हामी लाखौँ जनता सडकमा आयौँ भने एकैदिनमा समाप्त हुन्छ,” उनले भने, “हामीले एउटा ढुंगा हान्नु पर्दैन ।”
वर्तमान व्यवस्थाप्रति जनतामा चरम असन्तुष्टि रहेको बताउदै यही अवस्था रहे वर्षौंसम्म पनि जनताले अनुभूति हुने गरी परिवर्तन महसुस गर्न नपाउने उनको भनाइ थियो ।
उनले देश बिग्रिए केपी शर्मा ओली, शेरबहादुर देउवा वा पुष्पकमल दाहाल ‘प्रचण्ड’को केही नबिग्रने टिप्पणी गरे । युवाको भविष्य भने बिग्रने भएकाले सचेत भएर अघि बढ्नुपर्नेमा उनले युवाहरुलाई जोड दिए ।
अध्यक्ष लिङदनेले हालका दलबाट देश थप जटिलता तर्फ ढकेलिने अवस्थामा पुगेकाे जिकिर गरे ।