News Portal

७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस : साहस, इतिहास र पहिचानको पर्व

अजय मल्ल जेठ १५ काठमाडौँ
२१ पटक
जेठ १५ काठमाडौँ

नेपालमा हरेक वर्ष मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइन्छ । जुन दिन सन् १९५३ मे २९ का दिन बिहान ११:३० बजे नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका एडमण्ड हिलारीले सगरमाथामा पहिलो पाइला टेक्न सफल भएका थिए। सगरमाथा विश्वको सर्वोच्च शिखर हो । जसको उचाइ ८,८४८.८६ मिटर (२९,०३१.७ फिट) छ।

सगरमाथा आरोहणको इतिहास :

सगरमाथाको मापन सन् १८६५ मा ब्रिटिस सर्भे अफ इन्डियाले गरेको थियो र त्यसलाई ‘पिक १५’ भनिएको थियो।सन् १९२० को दशकमा बेलायती आरोहीहरूले तिब्बतबाट आरोहण प्रयास गरेका थिए । जसमा जर्ज म्यालोरी र एन्ड्रे इर्भिन १९२४ मा बेपत्ता भएका थिए। नेपालले सन् १९५० पछि विदेशी आरोहीहरूलाई सगरमाथा आरोहणको बाटो खोलेपछि आरोहण अभियान तीव्र भयो । पहिलो सफल आरोहण १९५३ मे २९ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले गरेका थिए । नेपाली महिलामध्ये पासाङ ल्हामु शेर्पा सन् १९९३ मा पहिलो सफल आरोहण गर्ने महिला हुन्, तर उनकाे आराेहन गरेर फर्कने क्रममा निधन भएकाे थियाे ।

आरोहण तथ्याङ्क र चुनौतीहरू :

हालसम्मको तथ्यांक हेर्दा लगभग ६५०० जनाले सगरमाथा आरोहण गरिसकेका छन् । सगरमाथा आरोहणमा हालसम्म ३३० भन्दा बढी पर्वतारोहीको मृत्यु भइसकेको छ। मुख्य कारणहरूमा उचाइजन्य बिरामी, हिमपहिरो, खराब मौसम र अन्य दुर्घटनाहरू छन् ।

सगरमाथा आरोहणको पूर्वतयारी : शारीरिक र मानसिक चुनौती सगरमाथा आरोहणका लागि कडा शारीरिक र मानसिक तयारी आवश्यक हुन्छ।

शारीरिक तयारी: आरोहीले महिनौं अघिदेखि नै शारीरिक तन्दुरुस्तीका लागि कडा व्यायाम, दौड, लामो पदयात्रा, र उचाइमा रहने अभ्यास गर्नुपर्छ । उच्च उचाइमा अक्सिजनको कमिसँग जुध्न शरीरलाई अनुकूल बनाउनुपर्ने हुन्छ ।

 मानसिक तयारी: सगरमाथा आरोहणमा मानसिक दृढता र धैर्यता महत्त्वपूर्ण हुन्छ । खराब मौसम, शारीरिक थकान, र अन्य अवरोधहरूको सामना गर्न मानसिक रूपमा तयार हुनुपर्छ। प्रशिक्षण र अनुभव: उच्च उचाइमा पर्वतारोहणको अनुभव र आवश्यक तालिम हुनुपर्छ। बरफ चढ्ने, डोरीमा हिँड्ने, र प्राथमिक उपचार जस्ता सीपहरू सिक्नुपर्छ ।

 उपकरण र पोषण: उचित र उच्च गुणस्तरका पर्वतारोहण उपकरण (जुत्ता, कपडा, अक्सिजन सिलिन्डर, पाल, आदि) को व्यवस्था गर्नुपर्छ। उच्च क्यालोरीयुक्त खाना र पर्याप्त पानीको सेवन आवश्यक हुन्छ ।

 मौसम पूर्वानुमान: आरोहणको समयमा मौसम पूर्वानुमानको जानकारी राख्नुपर्छ। खराब मौसमले आरोहणलाई जोखिमपूर्ण बनाउन सक्छ।

सगरमाथाका बेस क्याम्पहरू: 

सगरमाथा आरोहणका लागि विभिन्न बेस क्याम्पहरू स्थापना गरिएका छन्, जहाँ आरोहीहरूले उचाइमा अनुकूलन आरोहण तयारी र बेस क्याम्पहरू छन । 

एभरेस्ट बेस क्याम्प (EBC):

 उचाइ: ५,३६४ मिटर (१७,५९८ फिट)

विवरण: खुम्बु हिमतालको फेदीमा अवस्थित यो सगरमाथा आरोहणको सुरुवात बिन्दु हो । यहाँ आरोहीहरूले प्रारम्भिक तयारी गर्छन् र अनुकूलन प्रक्रिया सुरु गर्छन् । यहाँ सयौं टेन्टहरू र आधारभूत सुविधाहरू उपलब्ध हुन्छन् ।

सम्भावित खतरा: प्रारम्भिक उचाइजन्य बिरामी (Acute Mountain Sickness), हिमपहिरोको सामान्य खतरा, खुम्बु हिमतालको अस्थिरता ।

 क्याम्प १:

 उचाइ: ६,०६५ मिटर (१९,८९८ फिट)

विवरण: खुम्बु हिमताल पार गरेपछि पुगिने यो पहिलो क्याम्प हो । हिमतालमा पर्ने दरार (crevasses) र हिउँका ठूला ढिक्का (seracs) बीचबाट बाटो बनाइन्छ।

 संभावित खतरा: खुम्बु हिमतालको खतरनाक दरारहरू, हिमपहिरोको उच्च जोखिम, हिउँका ढिक्का खस्ने खतरा, उचाइजन्य बिरामीको बढ्दो जोखिम ।

 क्याम्प २ (एडभान्स्ड बेस क्याम्प – ABC):

 उचाइ: ६,४०० मिटर (२१,००० फिट)

विवरण: लोत्से फेसको फेदीमा रहेको यो क्याम्प आरोहणको मुख्य आधार शिविर हो। यहाँ आरोहीहरूले थप अनुकूलन गर्छन् र माथिल्लो क्याम्पहरूका लागि तयारी गर्छन् ।

सम्भावित खतरा: उचाइजन्य बिरामी, हिमपहिरो, हावाको तीव्र गति, हिमस्खलन।

 क्याम्प ३:

  उचाइ: ७,२०० मिटर (२३,६२२ फिट)

विवरण: लोत्से फेसको मध्यभागमा अवस्थित यो क्याम्प निकै ठाडो र बरफले ढाकिएको ठाउँमा हुन्छ । यहाँ पाल टाँग्न पनि गाह्रो हुन्छ ।

सम्भावित खतरा: तीव्र हावा, अत्याधिक चिसो, अक्सिजनको चरम कमी, लडेर खस्ने जोखिम, उचाइजन्य बिरामी (HACE र HAPE) को उच्च जोखिम ।

 क्याम्प ४ (साउथ कोल):

 उचाइ: ७,९०६ मिटर (२५,९३८ फिट)

 

विवरण: लोत्से र सगरमाथाको बीचमा रहेको यो चुचुरो चढ्ने अन्तिम आधार शिविर हो। यहाँबाट आरोहीहरूले चुचुरोमा पुग्ने प्रयास गर्छन् । यो “मृत्यु क्षेत्र” (Death Zone) को सुरुवात बिन्दु हो ।

संभावित खतरा: अक्सिजनको चरम अभाव, तीव्र हावा, अत्यधिक चिसो, फ्रस्टबाइटको जोखिम, उचाइजन्य बिरामीको उच्च जोखिम, आरोहणका क्रममा थकाइ र कमजोर स्वास्थ्यका कारण ज्यान जाने संभावना।

पृथ्वीको सर्वोच्च शिखर सगरमाथा केवल एक हिमाल होइन, नेपाली अस्तित्व, साहस र गौरवको शाश्वत प्रतीक हो । यही अमर प्रतीकलाई चुमेर फर्किएका दुई अनुहारहरूले अहिले सम्पूर्ण नेपाली मन छुएको छ। ती हुन् राजनीतिमा संवेदनशील विचारका धनी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेपाली सांस्कृतिक दुनियाँमा चर्चित नृत्याङ्गना कविता नेपालीले सगरमाथा  सशक्त कथा बोकेर फर्केकी छिन। नृत्यशैली, सौन्दर्य र आत्मविश्वासकी प्रतीक कविता, जब ८८४८ मिटरको उचाइमा पुगिन्, त्यो क्षणले नेपाली महिलाहरूको क्षमता र साहसको पराकाष्ठा देखाएको छ। उनले शिखरमा पुगेर आकाश भन्दा उचो सपना देखेको उनले व्यक्त गरिन।

अन्तमा सगरमाथा तिमी संसारको छानो हौं तर हाम्रो आत्माको शिखर पनि सगरमाथा तिमी हिमाल मात्र हैन, हाम्रो पहिचानको चुली हौं । तिमी टाकुरा मात्र  हैन, संसारका आठ अर्ब मानिसमाझ नेपाललाई चिनाउने एउटा अमर झण्डा हौं । तिमी हाम्रा सपना, आत्मा र स्वाभिमानको सर्वोच्च शिखर हौं।आज ७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा हामी सम्पूर्ण नेपालीले देशका कुना–कुनाबाट देशबाहिर रहेका छरिएका मनहरूले एउटै स्वरमा भन्छौं सगरमाथा तिमी हाम्रो शिर हौं, तिमीलाई गहिरो नमन सहस्र नमन। धन्यवाद 

प्रतिकृया दिनुहोस्