
पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ। विद्युतीय कारोबार (साइबर अपराध) सम्बन्धी उजुरीमा प्रहरीले पक्राउ अनुमति लिएपछि पाठकका पक्षबाट अदालतमा निषेधाज्ञा माग गरिएको थियो।
सो निवेदनउपर सुनुवाई गर्दै न्यायाधीश ऋषिराज भण्डारीको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उनलाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो । त्यस्तै अदालतले सरकार पक्षलाई थप छलफलका लागि असार ५ गते झिकाएको छ ।
पत्रकार पाठकले बनाएको देउवाका छोरा जयवीर देउवाको लगानी हिल्टन होटलमा रहेको विषयले उनीमाथि साइबर ब्यूरोमा उजुरी परेको थियो । साइबर ब्युरोमा परेको उजुरीका आधारमा उनी विरुद्ध पक्राउ पुर्जी जारी मात्रै भएको थिएन गत बुधवार देखी प्रहरीले पाठकलाई खोजी गरिरहेको थियो । पक्राउ पुर्जी लिएर बुधवार देखी पाठकको घरमा पुगेको प्रहरीले पाठकलाई नभेटेपछि बिहीबार उनी निकट रहेकै आधारमा अर्का पत्रकार नारायण अर्याललाई २ घण्टासम्म नियन्त्रणमा लिएर राखेको थियो । उनलाई प्रहरीले बिहीबार अपराह्न कुपन्डोलस्थित नटराज ट्राभल्समा २ घण्टासम्म घेरेर राखेको थियो । पछि पत्रकारको समूहले उनलाई प्रहरीको फन्दाबाट निकालेका थिए ।
यहि बिचमा पाठककी श्रीमती शिखा प्रसाईंले उच्च अदालतमा निषेधाज्ञाको निवेदन दायर गरेकी थिइन् ।