News Portal

महेश बस्नेतको स्ट्याटसले विक्षिप्त बनायो : समीक्षा अधिकारी

फरकपोस्ट संवाददाताअसार १५ काठमाडौँ
११७ पटक
असार १५ काठमाडौँ

गायिका समीक्षा अधिकारीले एमाले नेता महेश बस्नेतको स्ट्याटसले आफूलाई विक्षिप्त बनाएको बताएकी छिन् । गायिका अधिकारीले कुनै घटनाबाट आफूलाई चोख्याउन आफ्नो चरित्र हत्या हुने गरी नेता बस्नेतले फेसबुक स्ट्याटस लेखेको आरोप लगाएकी छन् । गायिका अधिकारीले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएकी हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले लेख्नुभएको फेसबुक पोस्टले हौसला दिएको र केही मात्रामा राहत मिलेको तर प्रधानमन्त्रीकै विश्वास पात्र मानिएका बस्नेतले लेखेको पोस्टले आफूलाई विक्षिप्त बनाएको फेसबुक पोस्टमार्फत उल्लेख गरेकी छन् ।

गायिका अधिकारीले लेखेकी छन्- ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो। तर त्यो पोस्टको मसी सुक्न नपाउँदै, हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु।’

गायिका अधिकारीले जनताको अदालतभन्दा ठुलो अरू केही नभएको बताउँदै जिन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएको कुरा तीन करोड जनतालाई थाहा भएको र धेरै भन्ने नपार्न समेत नेता बस्नेतलाई चेतावनी दिएकी छन् ।

उनले बस्नेतलाई प्रश्न गर्दै भनेकी छन्- ‘बस्नेत ज्यूलाई मेरो प्रश्न छ, मलाई र हजुरकी डाक्टर छोरी एकै ठाउँमा राखेर सोच्नुभएको भए के यस्तो लेख्ने हिम्मत आउँथ्यो…..?’

बस्नेतले शुक्रबार आफू विरुद्धको प्रकरणबारे फेसबुकमा स्ट्याटस लेख्ने क्रममा गायिका अधिकारीको प्रसङ्ग समेत जोडेका थिए ।

प्रतिकृया दिनुहोस्