
नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले चारदलीय समाजवादी मोर्चा विघटन गर्न प्रस्ताव गरेका छन्।
आज आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकमा मोर्चाका संयोजक समेत रहेका विप्लवले यस्तो प्रस्ताव गरेका हुन्। तर एकीकृत समाजवादीका नेता र नेकपा माओवादी केन्द्रका नेताहरूले तत्काल मोर्चा विघटन गर्दा राम्रो सन्देश नजाने भन्दै विप्लवको प्रस्तावलाई अहिले नै कार्यान्वयन गर्न उपयुक्त नहुने धारणा राखेका थिए।
नेत्रविक्रम चन्द विप्लवले मोर्चामा समय दिने कुरामा पनि नेताहरूमा समस्या देखिएको र हामीले भने जसरी गतिविधि गर्ने कुरामा पनि समस्या नै भयो भन्दै बैठकमा विप्लवले गुनासो पोखेका थिए। विप्लवले बरु अलि चल्ने गरी दुईचार महिना वर्कआउट गरेर पूर्ण सुचारु गरौं भन्ने प्रस्तावमा अरु नेताहरुले असहमति जनाएका थिए।
तर अरु नेताहरूको कमजोरी हटाउने र उहाँलाई नै अध्यक्ष राख्ने भनेपछि यसैमा सहमति भयो। स्रोतले भन्यो, स्थगित पनि नगरौँ र तपाईंले संयोजक पनि नछोड्नु भनेपछि उहाँ सहमति हुनुभयो।
मोर्चाले पछिल्लो समय जनता र पार्टीका नेता कार्यकर्ताको अपेक्षा पूरा गर्न नसकेको निष्कर्ष पनि निकालेको छ। नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडक बहादुर विश्वकर्माले मोर्चाका सबल पक्ष र दुर्बल पक्षको समीक्षा भएको भन्दै यसलाई प्रभावकारी बनाउन सुदृढ गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको बताए।
विश्वकर्माले पनि मोर्चामा समावेश भएका नेताहरूलाई प्रभावकारी ढङ्गमा काम गर्न नसक्दा अनेक प्रश्न उठेको र अब निर्ममतापूर्वक सच्चिनेतिर लाग्नुपर्नेमा हामी पुगेको बताए।
नेकपा एकीकृत समाजवादीका नेता प्रमेश हमालले मोर्चाको समीक्षा गर्दै आगामी दिनमा थप सशक्त बनाउने प्रस्ताव पारित भएको बताएका छन्। मोर्चाको कार्यक्रमिक प्रस्ताव परिमार्जनसहित पारित भएको छ भने विचार मिल्नेहरुलाई मोर्चामा आबद्ध गराउने निर्णय भएको हमालले बताएका छन्।