‘पानी फोटो’ भन्नासाथ हामी त्याे कुरा सम्झन्छाैं । जुन समय थियाे फोटो पानीमा धुलाई गरेर निकाल्ने जमाना, फोटोको नेगेटिभ अनि श्यामश्वेत तस्वीर । त्यसबेलाको सतर्क पोजिसनको फोटो पोज, धुलाई गर्ने तरिका, फोटो एल्बम सबै पृथक खालका थिए । पानी फोटोलाई अहिले डिजिटल जमानाले एकादेशको कथा जस्तो बनाइदिएको छ । र एकादेशको कथा जस्तो बनेको पानी फोटो र त्यस समयको द्धन्द्धको दुर्दान्त घटनाका बाछिटा बुनेर लेखक, कलाकार खगेन्द्र लामिछानेले चलचित्र बनाएका छन् । जसलाई नाम दिएका छन् ‘पानी फोटो’ ।
नेपाली कला, रंगमञ्चमा तत्कालीन सशस्त्र युद्ध कथाका अनेक आयाम सहितका गीत संगीत, कथा, नाटक, पुस्तक र चलचित्र आइसकेका छन् नै, यही लहरमा पानी फोटो किन ? सार्वजनिक भइसकेका यी युद्ध कथाहरु भन्दा आखिरमा के फरक छ त पानी फोटो ? यो आम चासो, जिज्ञासा र कौतुहलताको विषय बनेको छ । जसका बारेमा लेखक, कलाकार तथा निर्देशक लामिछाने विषय एउटै भए पनि उठान, प्रस्तुति, शैली, अभिनय सबै हिसाबले निकै मेहेनत गरिएकाले दर्शक हल सम्म पुग्नुपर्ने बताउछन् ।
खगेन्द्र लामिछाने अभिनयमा पारंगत मानिन्छन् । उसो त उनी कथा, चलचित्र लेखनमा पनि उत्तिकै सशक्त सर्जक हस्ताक्षर हुन् । अहिले उनी कथा, पुस्तक र फिल्ममा अभिनयको दायरालाई अझ फराकिलो बनाउने कोशिसमा छन् । र, यसपटकको कथा आपैmँलाई भन्न मन लागेर चलचित्र लेखन र अभिनयसँगै निर्देशनमा उत्रिएको उनी बताउँछन् । पशुपति, वधशाला जस्ता चलचित्रमा काम गरिसकेका लामिछाने यस फिल्म निर्देशनका लागि व्यापक तयारी गरेर मात्र आएको दावी गर्छन् । र उनी थप्छन्, ‘यस फिल्मको कथा लेखन र तयारी यसरी गरेको थिएँ कि हरेक सिन र सटका लागि फ्रेमवर्क बनाएको थियो, सुटिङ नसकिई म मरेको भए पनि यो फिल्म बन्थ्यो ।’ बेला बेलामा टिमका साथीहरुलाई म मरेँ भने पनि फिल्म बनाएर निर्देशकमा मेरै नाम राखिदिन भन्ने गरेको उनले सुनाए ।
‘पानी फोटो’ सशस्त्र द्वन्द्वमा बेपत्ता भएकाको आफन्तको कथाको हो । छोरो हराएपछि बाबु आमा र आफन्तको अवस्था, युद्ध पछिको पीडादेखि वर्तमान सम्मको कथा जोडिएको छ । आफ्नै मामा १६ वर्षको उमेरमा हराउनुभएका मामा, ९४ वर्षीया हजुरआमाको छोरा आउने प्रतिक्षाको विषयले लामिछानेमा पीडाको गहिरो छाप थियो । यही विषयमा उनले नाटक लेखेँ । मञ्चन गर्दा धेरै मान्छेलाइ छोयो । त्यसपछि यो कथा धरै भन्दा धेरैलाई सुनाउनु, देखाउनु पर्छ भन्ने लाग्यो । फिल्मबाट यो कथा भन्नुपर्ने भएपछि थप रिचर्सको लागि रोल्पा र बर्दिया लगायतका गाउँ पुगे । एउटा परिवारसँग कुरा गरेर अर्को घर पुग्न दुई तीन घण्टा लाग्थ्यो । एकै घरको दुर्दान्त कथा सुनेर विक्षिप्त बनेकाले अर्को घर नआए पनि हुन्थ्यो भन्ने त्यसबेला लाग्ने गरेको उनले सुनाए । गाउँ घुमेर पीडित परिवारलाई भेटेपछि सुन्ने मान्छेलाई त यति पीडा हुुन्छ भने भोग्नेलाई कति पीडा भयो होला ? यही प्रश्नले रन्थनिदै पुनः शहर फर्किएर फिल्म कथालाई पूर्णता दिएको उनको भनाई छ ।
यस चलचित्र असार १३ अर्थात् शुक्रबारदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा खगेन्द्रसँगै मुख्य भूमिकामा छन्, अनुप बराल, मेनुका प्रधान, माओत्से गुरूङ, बुद्धि तामाङ, मल्लिका महत ।
चलचित्रमा लामिछाने स्वयंको लेखन, निर्देशन, अभिनय र लगानी छ । उनकै श्रीमती रोजिना सिटौला र रवीन्द्र बज्राचार्य चलचित्रका निर्माता हुन् । यस अर्थमा चलचित्र पानी फोटो लामिछानेको फेमिली प्रोजेक्टसँगै ‘ड्रिम प्रोजेक्ट’ पनि हो ।
युद्धले समाजमा कस्तो असर पार्छ र त्यसको दुरगामी असर कहाँसम्म हुन्छ भन्ने विम्बका रुपमा चलचित्र तयार गरिएको खगेन्द्र बताउँछन । हुन त देश युद्ध छोडेर शान्ति प्रक्रियामा हिँडेको साढे एक दशक बढी भइसक्यो । तर, द्वन्द्वका घाउ निको हुन नसकेकाले यो विषय र संवेदनशीलता बुझ्न बुझाउन चलचित्रले भूमिका खेल्ने उनको विश्वास छ
फिल्मकी अभिनेत्री मेनुका प्रधानले कथावस्तु भने सुन्न साथ तानिएको बताउछिन् । शुरुमा कथाकी पात्र निभाउन उमेरका हिसाबले सक्दिन कि भन्ने भय मनमा भए पनि केही समयको तयारीबाट आफूलाई तयार गरेको प्रधानको कथन छ । अर्की अभिनेत्री मलिका महतले पनि काम गर्दै जाँदा पात्रमा डुबेर त्यसमै रमाएकोे र फिल्मको टिजर, ट्रेलरबाट आएको प्रतिक्रियाले निकै उत्साहित भएको बताइन् । आफुले द्वन्द्वकालको अनुभव गर्न नपाए पनि फिल्मको कथावस्तुले नयाँ पुस्तालाई समेत त्यस कालखण्डको अनुभव र इतिहास बुझ्ने अवसर मिल्ने उनले बताइन् ।
पानी फोटो टिमले चलचित्रले दर्शकको मन जित्ने विश्वास र भरोसा व्यक्त गरिरहे पनि आजका दिनबाट यस फिल्मको परीक्षा सुरु भएको छ । लभ स्टोरी भन्दा पृथक यस चलचित्रलाई सफलता मिलोस्, शुभकामाना ।