News Portal

राेल्पा शब्दकाे उत्पति कसरी भयाे ? यस्ताे छ तथ्य

फरकपोस्ट संवाददाताअसाेज ७ राेल्पा
४०४४ पटक
असाेज ७ राेल्पा

रोल्पा राज्यको स्थापनाकाल निश्‍चित रुपमा थाहा पाउने साधन र स्रोतको अभाव छ । रोल्पा शब्दको उत्पतिबारे मतैक्यता पाइदैन। वि.सं. १५१५ वा १५६० तिर चन्दवंशी राजाहरुले रोल्पा, प्यूठान मिसिएको स्वतन्त्र राज्य स्थापना गरेको भन्ने भनाई भए तापनि किटानी गर्न सकिने अवस्था छैन । हालको रोल्पाको धेरै भाग प्यूठान र सल्यानमा रहेकोले यसको इतिहासबारे खासै प्रमाण भेटिएको छैन । रोल्पाभित्र थुप्रै रजौटाहरु रहेको कुरा पृथ्वीनारायण शाहले काजी कालु पाण्डेलाई लेखेको पत्रमा प्यूठान, रोल्पा पर्वतभित्र कति राजा छन्.. भनिनुले पनि पर्दछ । परापूर्वकालमा रोल्पाको शासन प्यूठानबाट सञ्चालन भएको देखिन्छ । रोल्पाका ध्वजबहादुर चनसंग रहेको वंशावलीअनुसार प्यूठानका राजाहरुको नामावली निम्नानुसार छ ।
१. लटराज
२. भुवराज
३. नरहरीराज
४. नरिन्द्र राज
५. गजिन्द्र राज
६. सुर्तान राज
७. दलपति राज
८. शंसाही राज
९. पृथ्वीपति राज
१०. उदतराज
११. मोति चन्द राज
१२. मानिक चन्द राज
१३. दिप प्रताप चन्द राज
१४. रुद्र प्रताप चन्द राज

एउटा राजाले २५ वर्षसम्म शासन गर्छन् भन्ने इतिकासकारको मान्यतालाई आधार मान्दा यी चन्द राजाहरुले ३५० वर्ष जति राज्य गरेको पाइन्छ । वि.सं. १८४३ मा श्रीनाथ सवुज वरख, श्री जङ रणभीम नयाँगोरख, श्री मेहर भवानी बक्स, दुर्गा बक्स, रामदलपति कंपनी र नेपालबाट पर्वत हान्न गएका काजी दामोदर पाण्डे, काजी जगजित पाण्डे, सुवेदार बदलसिंह थापा नयाँ श्रीनाथसमेत भएर धुर्कोट बाटो गरी प्यूठान, रोल्पा हान्न आउँदा बिना लडाई नै जीत भए पश्‍चात नेपाल राज्यभित्र एकीरण भएको थियो । रोल्पा जिल्लाको भूमिमा सर्वप्रथम मगर जातिहरु बसोबास गरिएको कुरा यहाँको स्थानहरुको नामाकरणबाट बुझिन्छ (भाबाङ, धबाङ, जिनाबाङ, पारिबाङ, जेदबाङ, कोर्चाबाङ, इरिबाङ, तालाबाङ, तेबाङ, थबाङ, लिबाङ, पाछाबाङ आदि) ।

मगर भाषामा बाङ भन्नाले बस्तीलाइ वा चौरलाइ जनाउँदछ । प्राचीन कालमा लिच्छवीहरुको अधिनमा रहेको यो जिल्ला पछि खसिया मल्लहरुको अधिनमा १४ औं शताब्दीसम्म रह्‍यो । खुग्री, भिंगृ , इष्मा, मुसिकोट प्यूठानका अनुयायी भएको कुरा इतिहासविद् ह्‍यामिल्टनले उल्लेख गरेको पाइन्छ । नेपाल एकीकरण अभियानमा प्यूठानको सर गरिसकेपछि खुँग्री र उदयपुरका शासकहरु नेपाल नरेशको छत्रछायाँमा रजौटाको रुपमा रहे । खुंग्री र उदयपुरका राजालाई राज्य रजौटाको ऐन, २०१७ ले आजीवन राजाको पदवी प्रदान गरेको थियो । २०१९ साल पूर्व प्यूठान तथा रोल्पा भित्रीकोट, नारीकोट, उदयपुरकोट, माडी खोला, कालाशेष र बाईसखुवा ,खुंग्री ,रोल्पाथुम गरी ८ थुममा विभाजित भएकोमा २०१९ मा कालाशेष, खुंग्री र वाईसखुवा रोल्पामा गाभिए ।

रोल्पा नेपालको मध्य–पश्‍चिमाञ्चल विकास क्षेत्र अन्तरगत पर्ने राप्ती अञ्चलको एक मध्य पहाडी जिल्ला हो ।
नेपालको प्रशासनिक विभाजनअनुसार पूर्वमा बाग्लुङ र प्यूठान, पश्‍चिममा सल्यान, उत्तरमा रुकुम र दक्षिणमा दाङको बीचमा रहेको यस रोल्पा जिल्ला ८३.१०० देखि ८३.९०० पूर्वीदेशान्तर र २८.८० देखि २८.३८० उत्तरी अक्षांशमा अवस्थितछ । समुद्र सतहदेखि ७०१ देखि ३,६३९ मीटरसम्मको उचाईमा रहेको यस जिल्लाको सदरमुकाम लिबाङ समुद्र सतहबाट १,३७५ मिटरको उचाईमा रहेको छ । कूल क्षेत्रफल १,८७९ वर्ग किलोमीटर रहेको यस जिल्लालाई २ निर्वाचन क्षेत्र, ११ ईलाका र ५१ गा.वि.स. हरुमा विभाजन गरिएको छ ।

वि.सं. २०१८ सालमा नेपालका ३५ जिल्लाहरुलाई ७५ जिल्लामा विभाजन नगर्दासम्म रोल्पा जिल्लाको वर्तमान क्षेत्र प्यूठान र सल्यान जिल्लामा पर्दथ्यो । एकीकरण पूर्व अन्य बाईसे चौविसे राज्यहरुमा जस्तै यस भेगमा पनि छुट्टै राजाहरुले राज्य गर्दथे । तथापि यहाँका राजाहरुले अन्य राजाहरु जस्तो प्रख्याति पाएको भने सुनिदैनथ्यो । त्यसको कारण सम्भवतः राज्यको क्षेत्र सानै भएर हुनसक्छ। गजुलकोटमा काठमा लेखिएको वि.सं. १७०३ को अभिलेख पाइए बाट त्यहाँ राजदरवार रहेको प्रमाणित हुन्छ । सेन राजा गजुलमा सुरुदेखि नै बसेको भने पाइदैन । गजुल क्षेत्रमा राज्य व्यवस्था त थियो तर त्यहाँ केही समय राजा नभएकोले त्यहाँका काजीहरु राजगुण भएको प्रतिभाशाली व्यक्तित्वको खोजीमा थिए भन्ने जनश्रुति छ । उनीहरुले गजुलमा एउटा पोखरी खन्ने क्रममा नजिकैको चौतारीमा शिरको फेटा फुकालेर जो व्यक्ति बस्छ, उसैलाई राजा बनाउने गुप्‍त सल्लाह गरेका थिए ।

यस्तैमा जाजरकोट जक्तिपुरबाट आएका तुथासेन त्यहि चौतारीमा आई काजीहरुको गुप्‍त सल्लाहअनुसारको प्रकृतिबाट बसेपछि उनलाई नैराजा बनाइयो। तुथासेन त्यहाँ आई पुग्ने अवस्था पनि मार्मिक रहेको पाइन्छ, जुन यस प्रकार छ– तुथासेन जाजरकोट जक्तिपुरका राजा थिए। उनी निकै धार्मिक प्रकृतिका व्यक्ति थिए । उनका भाईको दुर्भाग्यवश मृत्यु भए पछि विधवा भाई बुहारीलाई उनले नै विवाह गर्नुपर्छ भनी वाध्य गराउन थाल्दा सो कुरा नमानी विरक्तिएर राज्यसमेत ब्राम्हणहरुलाई दान गरेर मुक्तिक्षेत्रतर्फ हिँडेकावखत सोहीक्रममा उनी गजुलकोट आई चौतारामा बसेका रहेछन् । उनले त्यहाँको राजा हुन स्वीकारेपछि उनको विवाह रुकुमका राजा दारेजैतमकी छोरी तुम्वावतीसँग गराइयो । त्यसबखत गजुल राज्य अन्तर्गत १८ गाउँ थिए । तुथासेनका ५/६ पुस्ता पछिका धैर्यपाल गजुलमै राजा भए र उनका भाइ कर्णपाल खुँग्रीकोटका राजा भए। उनलाई राज्य रजौटा उन्मुलन पश्‍चात् पनि भत्ता उपलब्ध भइरहेको थियो । त्यसरी भत्ता प्राप्‍त गर्ने अन्तिम राजा भने फत्तेप्रचण्ड बहादुर सिंह हुन् । उनको वि.सं. २०४९ सालमा मृत्यु भयो ।

सात सय सखी, आठ हजार बुढागाउँ, नौसय माडीखोला, रोल्पा बाइसखुवा र कालाशेष थुम (मौजा) का नामले चिनिने वि.सं. २०१८ साल पूर्वको रोल्पा क्षेत्र वि.सं. २०१८ सालमा सल्यान र प्यूठानको केही क्षेत्र मिलाई बनाईएको र त्यस वखत ३३ गाउँ पञ्चायत रहेको थियो । पछि वि.सं. २०३४ सालमा सिमाना हेरफेर गरी ५१ गाउँ पञ्चायत बनाइयो । हाल रोल्पामा ५१ वटा गा.वि.स. नै कायम रहेको छ । “रोल्पा” भनेर चिनिने यो जिल्ला स्थान विशेष “रोल्पाथुम” को कारणले रोल्पा बनेको हो । तर अनौठो कुरा के छ भने अहिले “रोल्पा” भन्ने स्थान रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा पर्दछ । सिमाना हेरफेर गर्ने क्रममा रोल्पाथुमको केही भाग रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा परेको हो । त्यही क्रममा रोल्पाथुमको केही भाग सल्यान जिल्लामा मिलाउँदा “रोल्पा”पनि सल्यान मै छुट्न गएको हो ।

त्यस्तै अर्को किंवदन्तीअनुसार यस जिल्लाको शासन रोल पालोअनुसार गरिने परम्परा थियो । रोल पालोको राज्य भन्दै जाँदा अपभ्रंश भइ रोल्पा भनिएको पनि पाइन्छ । यस जिल्लाको सदरमुकाम लिबाङको नामाकरण यहाँका बहुसंख्यक जनसंख्याले बोल्ने खाम भाषाबाट रहन गएको हुनसक्ने यहाँका बुढापाकाहरु बताउँछन् । सदरमुकाम लिबाङमा पहिले घना बाँसको घारी भएको र खाम भाषामा ‘लि’ को अर्थ बाँस र ‘बाङ’ को अर्थ चौर, बस्ती हुने भएकाले यस ठाउँको नाम ‘लिबाङ’ रहन गएको उनीहरुको भनाई छ ।

स्रोतः जिविसबाट प्रकाशित ‘वार्षिक समीक्षा पुस्तक’

साभार : खेमराज गाउँले ब्लगबाट ।

प्रतिकृया दिनुहोस्