News Portal

सुप्रिम सहकारी ठगीमा जीबी राईसहित २८ प्रतिवादी

फरकपोस्ट संवाददाताबैशाख ३ काठमाडौँ
२१७ पटक
बैशाख ३ काठमाडौँ

रूपन्देहीको बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना सम्बन्धी अनुसन्धान गरिरहेको प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । बचतकर्ताले आफ्नो रकम हिनामिना भएको जनाउँदै उजुरी दर्ता गराएपछि प्रहरीले एक महिनाभन्दा लामो समयदेखि अनुसन्धान गरिरहेको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी रन्जित सिंह राठौरले प्रहरीले रकम हिनामिनामा संलग्नको आरोपमा २८ जनालाई प्रतिवादी बनाएर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको जानकारी दिए । ‘लामो अनुसन्धानपछि २८ जनालाई प्रतिवादी कायम गर्न रायसहित सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएका छौं,’ राठौरले बताएका छन् ।

सरकारी वकिल कार्यालयले आफ्नो राय थपघट गर्न प्रतिवेदनमाथि अध्ययन गरिरहेको छ’ राठौर ले भने । बुटवलमा मुख्य कार्यालय रहेकाले बचत हिनामिनाको इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरेको थियो । उक्त सहकारीको बचत रकम हिनामिना आरोपमा ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राई सहित २८ जनालाई प्रतिवादी बनाउन प्रहरीले सरकारी वकिललाई राय दिएको छ । एसपी राठौरले प्रतिवादीबाट १ अर्ब २ करोड बिगो माग दाबी भराउनु पर्ने राय सहितको अनुसन्धान प्रतिवेदन बुझाइएको बताए ।

प्रहरीले अहिले सम्म सुप्रिमको रकम हिनामिना प्रकरणमा उक्त सहकारी अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं उक्त सहकारीका पूर्व कोषाध्यक्ष दीपेश पुन, भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं, दीपक न्यौपाने र नीता थापा मगर पक्राउ परेका छन् । उनीहरू माथि प्रहरीले विज्ञ टोलीको सहायतामा अनुसन्धान गरेको थियो ।

सहकारी हिनामिनामा जोडिएका संस्थाका अध्यक्ष गुरुङ सहित पदाधिकारी माथि अनुसन्धानका लागि प्रहरी सहकारी र कम्पनी रजिस्ट्रार कार्यालयबाट विज्ञ र सीआईबीका अनुसन्धान अधिकृतको सहायता लिएको जनाएको छ । बचतकर्ताको रकम हिनामिना भएको भन्दै उजुरी परेपछि प्रहरीले गत फागुन ३ गते सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र भैरहवा शाखा व्यवस्थापक चापागाईंलाई पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ परेका ५ जनाबाहेक अन्यलाई फरार प्रतिवादी कायम गरिएको प्रहरीले जनाएको छ । पूर्व उपराष्ट्रपतिका छोरा पुन गत चैत २ मा काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना सार्वजनिक भएपछि प्रहरीले पीडितबाट जाहेरी माग गरेको थियो ।

अहिले सम्म बचत हिनामिना भएको उल्लेख गरेर १ हजार ८ सय ३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका छन् । प्राप्त जाहेरीका आधारमा पीडितको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रतिकृया दिनुहोस्