News Portal

प्यूठान र स्वर्गद्वारी नगरपालिकाको सिमानामा चुनढुङ्गा उत्खननको तयारी

पूर्ण रूपमा रोक्न स्थानीय जनता र जनप्रतिनिधिको ऐक्यबद्धता

झइन्द्र भण्डारी चैत ८ प्यूठान
१११२ पटक
चैत ८ प्यूठान

स्वर्गद्वारी नगरपालिका र प्यूठान नगरपालिका प्यूठानको सिमानामा पर्ने चौदली भिरमा स्थानीय बासिन्दा तथा वडा कार्यालयहरूलाई कुनै जानकारी नगराई चुनढुङ्गा उत्खनन गरी चुन ढुङ्गा खानी सञ्चालन गर्ने तयारी थालिएको छ ।

गौरीशंकर सिमेन्ट कारखानाले सरकार सं अनुमति लिएर चुन ढुङ्गा उत्खनन गर्न थालेको भन्ने बताए पनि अझै कस कसले कसको मिलेमतो र अनुमतिमा चुन ढुङ्गा खानी सन्चालनको तयारी थालिएको हो आधिकारिकता भने छैन ।
चुनढुङ्गा लगायत अन्य खानीको बारेमा भने त्यहाँ पटकपटक ल्याब परीक्षण गरेको पाईएको छ । केहि दिन अघिमात्र केही कामदार , कर्मचारी तथा प्राविधिक टोली स्वर्गद्वारी नगरपालिका वडा नम्बर ६ देउराली बस्ती नजिक रहेको जिमुरे सामुदायिक वनको क्षेत्रभित्र पर्ने डाडोमा कार्य गर्न थालेको स्थानीयले थाहापाएछि सरोकारवालाहरूलाई खबर गरी जानकारी लिने क्रममा गौरीशंकर सिमेन्ट कारखानाले ल्याब परीक्षण तथा अन्य कार्य प्रक्रियाको लागि उक्त व्यक्तिहरूलाई त्यहाँ पठाएको खुल्न आएको छ ।

चुनढुङ्गा उत्खनन गर्ने भन्दै परिक्षण गरिदै आइएको चौदली भिर स्वर्गद्वारी नगरपालिका वडा नम्बर ६ देउराली बस्तीदेखि नजिक र प्यूठान नगरपालिका वडा नम्बर ५ जुम्रीकाडा पातलकटेरीको सिमानामा पर्दछ । चौदली भिर मात्र होइन डर्नेटा भिर धान्धारा गाई बस्ने भिर लगाएतका स्थानहरूमा चुनढुङ्गाको सम्भावना रहेको बताईएको छ । स्यहाँको थानीय सरकार र सर्वसाधारणलाई कुनै पनि जानकारी नदिई खानी उत्खननको तयारी भएपछि स्थानीय बासिन्दाहरू र वडा कार्यालयका जनप्रतिनिधिहरूले एक भइ यसको चर्को बिरोध गरेका छन । चैत ५ गते शनिबार स्वर्गद्वारी नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयको आयोजना र प्यूठान नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको समन्वयमा एक संयुक्त कार्यक्रमको आयोजना गरेर सम्बन्धित स्थानीय बासिन्दाहरूलाई जागरूक बनाउदै बिरोध स्वरूप प्रारम्भिक कार्यक्रम गर्दै ५३ सदस्यीय संघर्ष समिति समेत गठन गरिएको छ ।

प्रारम्भिक बिरोध कार्यक्रममा बोल्दै वडा नम्बर ५ प्यूठानका वडा अध्यक्ष लक्ष्मण भण्डारीले यो हर्कतमा कुनै न कुनै विशिष्ट व्यक्ति संषै जनप्रतिनिधिहरू पनि मिलेमतोमा रहेको हुनुपर्ने बताए । यसबाट पर्ने प्राभावहरू बताउदै भण्डारीले चुनढुङ्गा खानी सञ्चालनले स्वर्गद्वारी नगरपालिका भन्दा बढी प्यूठान नगरपालिकालाई असर पर्ने बताए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा वडा नम्बर ६ स्वर्गद्वारीका अध्यक्ष गिर बहादुर गुरूङले यो कामको प्रक्रिया सम्बन्धि आफू लगायत आफ्नो कार्यालयलाई कुनै पनि जानकारी नभएको बताउदै शंका लागेपछि नगर प्रमुखलाई सोध्दा नगरप्रमुखले यसले कुनै असर नगर्ने केही नहुने बताएको जानकारी गराए। यसमा नगरप्रमुखले खेलबाड गरेको वडा अध्यक्ष गुरूङको आरोप छ । कुनै पनि हालतमा आफूले उत्खननको हुन नदिने पनि वडा अध्यक्षले गुरुङले बताए । वडा अध्यक्षद्वय गुरूङ र भण्डारीले आफूहरू सधै जनताको साथ दिएर जनताको भलाइको निमित्त नै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै कुनै पनि हालतमा जुनसुकै परिस्थितिमा पनि यसलाई रोक्ने र यसको लागि जनताहरूको बलियो साथ हुनुपर्ने बताए । जनविरोधी कार्य रोक्नको लागि आफूहरू जुनसुकै मुल्य चुकाउन पनि तयार रहेको बताए । विभिन्न ठाउँमा उत्खनन हुँदा भएका समस्याहरूको उदाहरण राम्रोसँग बुझेको भन्दै चुन ढुङ्गा खानी सञ्चाल गर्न कुनै पनि हालतमा नदिने स्थानीयले बताएका छ ।

उता गौरीशंकर सिमेन्ट प्रालीका खानी निर्देशक दिनेश कर्माचार्यले अहिले खानीको परिक्षण भइरहेको बताए। परिक्षण भएर सम्पूर्ण पक्षबाट उपयुक्त पुष्टि भए मात्र प्रक्रियागत ढङ्गले चुन ढुङ्गा खानी सञ्चालन हुने बताउदै परिक्षणका कार्यक्रमहरूमा वडा कार्यालयलाई जानकारी गराउन नपर्ने तर नगरपालिकामा भने पत्रद्वारा औपचारिक जानकारी गराए ।

परिक्षणको लागि नेपाल सरकार खानी विभागको अनुमति लिएको बताउदै निर्देशक कर्माचार्यले यसको लागि आफ्नै प्रक्रिया हुन्छ प्रक्रिया भन्दा बाहिर रहेर कुनै पनि काम नहुने बताए । सबै परिक्षण कार्यक्रम पश्चात उपयुक्त देखिएमा मात्र उत्खनन प्रक्रिया अगाडि स्थानीय बासिन्दा , स्थानीय सरकार , प्रशासन , वन समिति तथा कार्यालयहरू लगायत सरोकारवाला निकाय सबै संग समन्वय गर्दै अनुमतिबाट मात्र उत्खनन हुने र स्थानीयले अनुमति नदिए काम नगर्ने पनि जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस्