News Portal

आत्महत्या गरिन् नायिका जेनी कुँवरले

फरकपोस्ट संवाददाताअसार २५, काठमाडौं
६०६ पटक
असार २५, काठमाडौं

नेपाली चलचित्रकी नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ८ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव साेही अपार्टमेन्टभित्र भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको प्रहरीले जनाएको छ । 

‘जिन्दगानी’ नामक नेपाली चलचित्रबाट अभिनय यात्रा थालेकी कुँवरले मैदान, जीवनदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै सर्वाधिक सफल चलचित्रमा अभिनय गरेकी छिन् । लामो समयसम्म भारत स्थित नयाँ दिल्लीमा बिताएकी जेनी त्यसयता नेपाली चलचित्र नगरीमा व्यस्त थिइन् । उनी अभिनित पछिल्लो चलचित्र हलचल थियो ।

पछिल्लो समय साधुको अवतारमा रहेकी उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउने गरेकी थिइन् । यसअघि पशुपति परिसरमै प्रहरीसँग लफडा गरेर उनी सञ्जालमा निकै भाइरल भएकी थिइन् । 

आत्महत्याको कारण डिप्रेसन : प्रहरी

प्रहरीले कुवँरको आत्महत्याको कारण डिप्रेसन भएको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनको आत्महत्या डिप्रेसनको कारण भएको पाइएको प्रहरी निरिक्षक न्यौपानेले जानकारी दिए ।

घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो । उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डिप्रेसनमा थिइन् र औषधि सेवन गरिरहेकी थिइन् । ६ महीना बिपस्यानामा बसेकी जेनीको मानसिक अवस्था पनि कमजोर भएको थियो । आत्महत्या घटना ८ बजेतिर भएको हुनसक्ने र त्यतिबेला आफू चावहिलतिर कामले गएको मनबहादुरले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाउने जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्