News Portal

विप्लवका दाजु नेता वीरजंगको अन्त्येष्टि

फरकपोस्ट संवाददाताअसोज ३१ काठमाडौं
५३७२ पटक
असोज ३१ काठमाडौं

नेपाल कम्युनिस्ट पार्टीका नेता बीरजंगको अन्त्येष्टी कपिलवस्तुको शिवराज नगरपालिकामा गरिएको छ । बीरजंगको अन्त्येष्टी अघि नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड ,केन्द्रीय सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरूसहित पार्टीका नेता–कार्यकर्ता, शिवराज नगरपालिका राजनितिक दल, नेता कार्यकर्ता तथा जनसमुदायले फुल माला लगाई सयौं नेता कार्यकर्ताले श्रद्धाञ्जली दिएका थिए ।

लामो समय देखि मुटु रोगका कारण ग्रसित रहेका नेता विरजंगको असोज २८ गते राती भारत स्थित नयाँ दिल्लीको म्याक्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको पार्थिव शरिरलाई हिजो मात्र गृह जिल्ला कपिलवस्तुको शिवगढीमा पुर्याइएको थियो ।

को हुन विरजंग ?
२०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिएका नेता वीरजङ्गको सम्पूर्ण जीवन राजनीतिमै व्यतीत भएको थियो । नेपालको कम्युनिस्ट आन्दोलनमा वीरजङ्गलाई क्रान्तिकारी, अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छन । विगत १० बर्षीय जनयुद्धमा ग्रामीण वर्ग सङ्घर्ष उठाउनमा महत्त्वपूर्ण भूमिका खेलेका नेता वीरजङ्गले पञ्चायती निरङ्कुशता र नेपालको सामान्ती राजतन्त्रका विरुद्धको सङ्घर्षमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

विप्लवले वैद्यसँग विद्रोह गरेर फरक पार्टी गठन गरेपछि सरकारले लगाएको प्रतिबन्धको समयमा लामो समयसम्म हिरासत र जेल जीवन व्यतीत गरेका नेता वीरजङ्गलाई जेलभित्रै मुटुको रोगले ग्रसति बनाएको थियो । दुई पटकसम्म उनको मुटुको शल्यक्रिया भएको थियो । प्रतिबन्धको समयमा प्रहरी हिरासतभित्रै उनलाई कोरोना सङ्क्रमण समेत पुष्टि भएको थियो ।

भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत उनको शुक्रवार राती अस्पतालमै निधन भएको थियो । नेता वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु हुन् । नेता वीरजंङ्गको निधनबाट नेपालको कम्युनिस्ट आन्दोलनले एक असल, निडर, प्रतिबद्ध र साहसी नेता गुमाएको छ ।

प्रतिकृया दिनुहोस्