
नगर बाल सञ्जाल स्वर्गद्वारी नगरपालिका प्यूठानले आज नगर बाल भेला तथा तेस्रो अधिवेशन सम्पन्न गरेको छ । ” बालबालिकामा लगानी लगाऔं ,बालमैत्री अभियानमा सहभागी बनौं ” भन्ने मुल नाराको साथमा नगर बाल सञ्जालका अध्यक्ष बसन्त सुनारको अध्यक्षतासङ्गै सुरू भएको तेस्रो अधिवेशन कार्यक्रमले स्वर्गद्वारी नगरपालिका ४ की हेमा खड्काको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
जिल्ला बाल सञ्जालकी अध्यक्ष मिना सुनार प्रमुख अतिथि, स्वर्गद्वारी नगरपालिका प्यूठानकी नगर उप प्रमुख गोमा रेग्मी विशिष्ट अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत बम बहादुर के.सी. विषेश अतिथिको रूपमा उपस्थित भएको कार्यक्रममा बालबालिकाको क्षेत्रमा र बालबालिकाको हकहित र विकासका लागि योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिना सुनारले स्थानीय सरकारहरूले बालबालिकामा लगानी खुलेर गरे मात्र समृद्ध समाजको परिकल्पना गर्न सकिन्छ भन्दै भौतिक बिकास , मोटरबाटो , भवनमा करोडौं लगानी गरेर मात्र समाज समृद्ध बनाउन सकिदैन भन्नु भयो । योजनाका कार्यक्रमहरूका केहि प्रतिशत बालबालिकाको क्षेत्रमा लगाउन सके निकै उपलब्धिमूलक हुने सुनारको जिकिर छ । अहिले सरोकारवालाहरूले बालबिबाह र बालश्रम मात्रलाई बालबालिकाको समस्या देखेको तर यो भन्दा अरू पनि अन्य समस्या पनि समाजमा विद्यमान रहेको सुनारले बताइन । स्थानीय संरचना निर्माण भइसकेपछि आफ्नो क्षेत्रका बालबालिकाको हरेक क्षेत्रको बिकासमा निकै ध्यान पुराउन जनप्रतिनिधिहरूलाई ध्यानाकर्षण गर्दै प्रमुख अतिथि सुनारले सम्पूर्ण सरोकारवालाहरू बालबालिकाको चिन्तनमा गम्भीर भएर लागेर राष्ट्र बिकासको खाकामा यात्रा सुरू गर्न अनुरोध गर्नु भयो ।
विशिष्ट अतिथि बम बहादुर केसीले बालबालिका भविष्यका कर्णधारसङ्गै समाज सञ्चालक पनि हुन समाज सुधार तथा विकासको लागि स्वर्गद्वारी नगरपालिका सदैब बालबालिकाको साथमा रहेको बताउनु भयो ।अहिलेका बालबालिकाको अखाद्य आहारबिहारले स्वास्थ्यमा ठुलो संकट आउन सक्ने बताउदै केसीले ब्रोइलरको मासु तथा अन्य अखाद्य खानाबट सतर्क रहन पनि सुझाव दिनु भयो ।
बाल भेला तथा अधिवेशनले हेमा खड्काको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको कार्यक्रमका अध्यक्ष बसन्त सुनारले बताउनु भयो । जसमा बसन्त गोराथोकी उपाध्यक्ष , कौशिला कालाथोकी सचीव , बिपिन पुन मगर सह सचीव , वर्षा बराली कोषाध्यक्षमा र सदस्यहरूमा सृजना सुनार, रञ्जु पुन , कल्पना पुन , सलिना रोकाय ,रोसन सुनार , सृजना सुनार , वर्षा गोराथोकी लगायका रहेको बसन्त सुनारले जानकारी दिनु भयो ।