News Portal

नारायणकाजी श्रेष्ठ र विप्लव बीच भेटवार्ता

फरकपोस्ट संवाददाताफागुन १८ काठमाण्डाैं
१३६१ पटक
फागुन १८ काठमाण्डाैं

एमसीसी सम्झौता संसदबाट अनुमोदन भएपछि पार्टीभित्र तीब्र असन्तुष्टि व्यक्त गरिरहेका नेता नारायणकाजी श्रेष्ठले अन्य दल र नेताहरुसँग छलफल सुरु गरेका छन् । उनले बुधबार बिहान नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सँग आफ्नै निवासमा भेटवार्ता गरेका छन ।

माओवादीमा अध्यक्ष पुष्पकमल दाहालको कार्यशैली एकलौटी खालको भएको भन्दै श्रेष्ठ पक्षधरले आपत्ति जनाउँदै आएको छ । एमसीसी विरोधी पक्षधरहरुकाे कार्यगत एकताका लागि समेत केही नेताहरुले माग गरिरहेका बेला श्रेष्ठ र विप्लव बीच भेट भएको हो । विप्लवले एमसीसी पास गरेर दलहरुले राष्ट्रघात गरेको आरोप लगाउँदै आएका छन् । माओवादी केन्द्रमा श्रेष्ठ पक्षको धारणा पनि विप्लवकै  संग मिलेकाे छ ।

पार्टी अध्यक्ष दाहालले नै सोमबार नेता श्रेष्ठलाई ‘पार्टी छाडेर गए पनि हुने’ आशयको अभिव्यक्ति दिएपछि श्रेष्ठ पक्ष झन थप असन्तुष्ट बनेकाे छ । हात्तीवनस्थित श्रेष्ठ निवासमा मंगलबार अध्यक्ष दाहाल पुगेको थिए । त्यहाँ ‘पार्टी छाडेर जान भनेको हो ?’ भन्दै उनले दाहाललाई प्रश्न गरेका थिए । दाहालले पार्टीभित्रका कमीकमजोरी समीक्षा गरेर जानुपर्ने उल्लेख गर्दै आफ्ना कुरा केन्द्रीय समितिमा राख्न श्रेष्ठलाई सुझाव दिएका थिए ।

एमसीसी सम्झौता अनुमोदन गर्ने पार्टीको निर्णयमा श्रेष्ठ पक्षधर सांसदहरू गिरिराजमणि पोखरेल र अञ्जना विशंखेले फरक मत राखेका थिए । लीलामणि पोखरेलले पनि एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयमा असन्तुष्टि जनाएका थिए ।

व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरिएपछि श्रेष्ठले सामाजिक सञ्जालमा पनि असन्तुष्टि व्यक्त गरेका थिए । उनले लेखेका थिए, ‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइछाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनका रूपमा लिनेछन् । सम्पूर्ण देशभक्त शक्तिहरू एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं ।’ एमसीसी सम्झौता अनुमोदन पछि श्रेष्ठ पक्षधरले छुट्टै भेलासमेत गरेको छ ।

प्रतिकृया दिनुहोस्