
नेकपा माओवादी केन्द्रकाे आज बस्ने स्थायी कमिटीको बैठकले पदाधिकारी टुङ्गो लगाउने प्रवक्ता कृष्ण बहादुर महराले जनाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई सबै भन्दा बढी सकस महासचिव चयन गर्न रहेको बताइएको छ ।
अहिले सम्म महासचिवमा, देव गुरुङ,जनार्दन शर्मा, वर्षमान पुन पम्फा भुसाल लगायतले आकांक्षा व्यक्त गरेका छन् । उनीहरु मध्ये शर्मा र पुनको बढी चर्चा भइरहेको छ । तर, माओवादी स्रोतका अनुसार शर्मा र पुनलाई उछिन्दै गुरुङ महासचिव बन्ने सम्भावना बढि देखिएको छ ।
तर, जनार्दन र वर्षमानमाथि दबाब सिर्जना गर्न प्रचण्डले गुरूङकाे कार्ड फालेकाे प्रचण्डनिकट एक नेताले बताए । हिजोको बैठकमा प्रचण्डको अभिव्यक्तिले धेरैले गुरुङलाई प्रचण्डले महासचिव बनाउन खोजेको बुझेका छन् ।
‘हिजाको बैठकमा पार्टी अध्यक्षले सिनियर नेताहरूबाट महासचिव बनाउने आशय व्यक्त गर्नु भएको थियो’ बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले भने, ‘नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा पछिको सिनियर नेता देव गुरुङ हुनुहुन्छ । सायद उहाँ नै महासचिव बन्नुहुन्छ होला ।’ श्रेष्ठ र महराले जिम्मेवारी पाइसकेको हुँदा अब गुरुङले जिम्मेवारी पाउन सक्ने ती नेताले बताए ।
हिजो बसेको बैठकले पदाधिकारी बाहेकका सबै समिति टुङ्गो लगाइसकेको छ ।