बरिस्ठ संगीतकार बिबि अनुरागी सम्मानित भएका छन् । उनलाई धौलागिरी सांस्कृतिक समितिले शनिबार काठमाडौंमा आयोजना गरेको ‘धौलागिरी संगीत उत्सव’मा सम्मान गरेको हो । समितिले अनुरागीलाई ‘धौलागिरी साधना सम्मान’ले सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, समितिका अध्यक्ष कृष्णसमीप सुवेदी, धौलागिरी समाज नेपालका अध्यक्ष केदारनाथ गौतम र समतिका सचिव सुजन बराइलीले सम्मान-पत्र, माला र दोसल्ला ओढाएर उनलाई सम्मान गरिएको थियो ।
समितिले सो अवसरमा धौलागिरीमा जन्मिएर राष्ट्रिय स्तरमा खेलकुद, पत्रकारिता, समाजसेवा र कला क्षेत्रमा रहेका विभिन्न व्यक्तिलाई पनि सम्मान गरेको छ ।
बागलुङको ‘भकुण्डे’ मा जन्मिएर नेपाली गीत संगीतको जगतमा सयौँ हिट गीत दिन सफल संगीतकार अनुरागीका थुप्रै कालजयी, लोकप्रिय एवम् अजम्बरी गीतहरु नेपाली गीत संगीत प्रेमी श्रोता/दर्शको मनमा बस्न सफल भएका छन् । अनुरागीको संगीतमा रहेको ‘उडेर जुन छुन्छु भन्थे’ ‘जहाँ तिमी’ ‘जाउला रेलैमा सरर’ ‘रुमाल धोको छु’ ‘बिछोडको कराैतीले’ लगायतका गीत सर्वाधिक चर्चामा रहेका गीत हुन् ।
बिबि अनुरागीले ४ हजारभन्दा बढी गीतमा संगीत र ८ हजारभन्दा बढी गीतमा संगीत संयोजन गरिसकेका छन् । नेपालमा रहेका अग्रज, नयाँदेखि अहिले बजारमा नाम चलेका गायकगायिका मात्र नभएर चर्चित भारतीय कलाकार हरुले समेत अनुरागीको संगीतमा गीत गाइसकेका छन् ।
नेपाली गीत संगीत जगतमा सबै विधाका गीतमा अनगिन्ती संगीत र संगीत संयोजनमा गरिसक्नु भएका बिबि अनुरागीले धुन सम्राटको उपाधि समेत पाइसकेका छन् ।