News Portal

सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन

फरकपोस्ट संवाददाता
४२५ पटक

चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा परेर निधन भएको छ । चितवनको राप्ती नगरपालिका–६ हर्दीमा भएको माइक्रोबस दुर्घटनामा परी ३५ वर्षीय विश्वकर्माको निधन भएको चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

चितवनको सुन्दरबस्ती–४ स्थित आफ्नो घरबाट काठमाडौं फर्कदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे उनी चढेको माइक्रोबस दुर्घटना भएको थियो ।

सुन्दरवस्तीबाट नारायणघाटतर्फ आउँदै गरेको बा ४ ख ४१२ नम्बरको माइक्रो रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा अन्य ४ जना घाइते भएको पण्डितको भनाइ छ ।

घाइते विश्वकर्मालाई अस्पताल लैजाँदै गर्दा बाटैमा निधन भएको पण्डितको भनाइ छ । प्रहरीका अनुसार उनको शव अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा राखिएको र पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने छ ।

थाहासञ्चार नेटवर्कबाट प्रशारण हुने चर्चित रेडियो कार्यक्रम बहकिने मनका प्रस्तोता विश्वकर्मा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा जात व्यवस्था उन्मुलन मोर्चा नेपालका सचिव थिए ।

प्रतिकृया दिनुहोस्