News Portal

विमान दुर्घटनामा परेकी लोकगायिका निरा छन्त्यालको मृत्यु

फरकपोस्ट संवाददातामाघ १ पोखरा
८४२ पटक
माघ १ पोखरा

पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर लोकगायिका निरा छन्त्यालको मुत्यु भएको छ ।

उनको मृत्यु भएको खबर उनकी दिदी हिरा छन्त्यालले पुष्टि गरेकी हुन् ।

दिदी हिराका अनुसार निरा पोखरामा आयोजना हुने चौथो संगबहादुर तथब्जा स्मृति कप कार्यक्रममा सहभागी हुन जान काठमाडौंबाट उडेकी थिइन् ।

उनले आजै बिहान आफ्नो एक तस्बिर सार्वजनिक गर्दै माघे संक्रान्तिको शुभकामनासमेत बाडेकी थिइन् ।

‘माघे संक्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्छु,’ उनले लेखेकी थिइन् ।

गायिका छन्त्यालको मृत्यु भएको जानकारी पाएसँगै पोखरामा आयोजना हुने भनिएको कार्यक्रम स्थगित गरिएको आयोजक संस्थाका सचिव नवीन घर्ती छन्त्यालले बताए ।

हामी पोखरामा बस्ने छन्त्यालहरूले आफ्नो महान् पर्व भनेर उहाँलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका थियौं । उहाँको दुर्घटना भएको जानकारी पाएसँगै हामीले कार्यक्रम स्थगित गरेका छौं,’ उनले भने ।

नेपाल छन्त्याल समाज कास्कीले आज माघ १ गते अन्तरछन्त्याल गाउँपालिका वडास्तरीय पुरुष तथा क्लबस्तरीय महिला भलिबल प्रतियोगता राखेको थियो ।

आज बिहान काठमाडौंबाट पोखरा उडेको एटिआर जहाज पोखरामा दुर्घटनाग्रस्त भएको थियो । विमानमा दुई पाइलट, दुई जना एयर होस्टेससहित ७२ जना यात्रु सवार रहेका थिए ।

प्रत्येक्ष दोहोरी र रेकर्डिङ गरिएका गीतहरूमा उत्तिकै सक्रिय छन्त्यालले गायक थुप्रै एल्बमका गीत र प्रत्येक्ष दोहोरीहरु लोकप्रिय छन् ।

प्रतिकृया दिनुहोस्