
पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा परेका ४ जना अझै फेला परेका छैनन् ।
आइतबार साँझसम्म खोजी कार्य जारी रह्याे तर उनीहरू फेला परेनन्।
रातको समयमा उद्धार कार्यमा कठिनाइ भएपछि उद्धार तथा खोजी कार्य गरिएन ।
आज बिहानैदेखि पुन: उनीहरूको खोजी भइरहेको छ। खोजीका लागि सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको गोताखोर टोली पनि परिचालन गरिएको छ।
पहिचान भएका पोखरा तथा आसपासका क्षेत्रका व्यक्तिका शव भने सोमबार पोखराबाटै परिवार तथा आफन्तको जिम्मा लगाइने भएको छ।
काठमाडौंका र विदेशी यात्रुका शव भने हेलिकप्टरमार्फत काठमाडौं लगेर परिवारलाई जिम्मा लगाउने तयारी रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।
चालक दलका ४ जना सदस्यसहित यति एयरलाइन्सको जहाजमा ७२ जना थिए ।
विमान हिजाे काठमाण्डाैंबाट पाेखराकाे लागि उडेकाे थियाे । अवतरणकाे तयारीमा रहेकाे जहाज पाेखराकाे सेती नदि खाेँचमा दुर्घटनाग्रस्त भएकाे थियाे ।