
णणनेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन नयाँ व्यवस्था लागू गर्ने भएको छ ।
आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले हाल उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल भइरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार केही दिनमै नयाँ व्यवस्था लागू हुनेछ प्राधिकरणले लागू गर्ने नयाँ व्यवस्थाअनुसार अब पाइलटले दैनिक आठ घन्टा उडान र आठ पटक मात्र अवतरण गर्न पाउने छन्। हाल दैनिक दस घन्टा उडान र १० वटा अवतरण गर्न पाउने व्यवस्था छ ।
त्यस्तै आईएफआर उडान हुने विमानस्थलमा भिएफआर उडान गर्न नपाइने प्राधिकरणले जनाएको छ ।
पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्यान्डिङ (स्टल) मा विमान जमिनको तहबाट सधैं ५०० फिट माथि हुनु पर्ने र सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको सतहबाट कम्तीमा एक हजार फिट माथि हुनुपर्नेछ ।
त्यस्तै चालक दलका सदस्यको थकानको जोखिम न्यूनीकरण गर्न उडानमा दुईभन्दा बढी चालक दलका सदस्य हुँदा थप समय उडान गर्न पाउने व्यवस्था खारेज हुनेछ ।
यसैगरी वायुसेवा कम्पनीका सबै प्रशिक्षक पाइलटले विमान उत्पादक कम्पनीमा गई सीप परीक्षण गर्नुपर्नेछ ।