News Portal

वर्तमान सरकारको आयु र राजनीति

मन्त्री पदको लागि राजनीतिक दलहरू तानातन

सौगात सिंह माघ २१ काठमाडौँ
३४३ पटक
माघ २१ काठमाडौँ

प्रतिगमनलाई परास्त पार्ने र संविधानको रक्षा गर्ने मूल एजेण्डा सहित पाँच दलिय गठबन्धन सरकारको नेतृत्व गर्दै स्थानिय तहको चुनाव हुँदै प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा हातेमालो गरेका राजनैतिक दल प्रधानमन्त्री पदको लागि क्षतविक्षत भएको छ । केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेको विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी फुटेको थियो भने एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएका थिए भने एमालेसङ्ग विद्रोह गरेर नेकपा एकिकृत समाजवादी माधव कुमार नेपालको पार्टी स्थापना भएको थियो । पाँच दलिय गठबन्धनको यात्रा सरकारको नेतृत्व सहित, स्थानिय तह चुनाव र प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावसँगै यात्रा समाप्त भयो ।

स्थायी सरकार, संविधानको रक्षा र पाँच वर्ष सम्म गठबन्धनको सरकार भन्ने मूल नारा सहित चुनावमा होमिए पनि दुई तिहाई तथा स्पष्ट बहुमत ल्याउन सकेनन् । विपरीत् , विभिन्न नयाँ दलको अपत्यारिलो उदय भयो, जो निर्णायक शक्तिको रुपमा देखिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरीक उन्मुक्ती पार्टी आदी हुन् । पाँच दलिय गठबन्धनका मूख्य दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष र पुष्पकमल दाहाल ” प्रचण्ड ” बीच प्रधानमन्त्री पदमा लुछाचुडी हुँदा नेकपा एमाले तथा केपी शर्मा ओलीको सहयोगमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्ने मौका पाए । ओलीको संसद विघटन पछि टुक्रिएको दल प्रतिनिधी सभा चुनाव सम्म राजनैतिक र वैचारिक रूपमा मतभेद संगै आरोप प्रत्यारोपणको वर्षात् नै थियो, जो चुनाव सकिए पछि पौष १० गते एमाले कै समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदा राजनीतिक तिक्तता साम्य भयो । जसको फलस्वरूप सात राजनैतिक दलको प्रचण्डलाई समर्थन गर्दै नयाँ सरकार गठन भयो ।

वर्तमान सरकारमा विभिन्न राजनैतिक दल छन् । अझै धेरै दलहरु थपिदैं छन् । जसमा प्रतिनिधि तथा प्रदेश सभामा प्रतिद्वन्द्वी दल अहिले सरकार र सत्तामा मज्जाले हाँसी खुसी हातेमालो गरेका छन् । साथमा नयाँ अनुहारका राजनैतिक दलमा सत्ताको स्वाद चाख्न तछाड मछाड छ। सत्तारुढ दलहरूमा मन्त्री र मन्त्रालय आफ्‌नो भागमा पार्न कुटनीतिक तथा रणनीतिक भूमिका खेलिरहेका स्पष्ट देखिन्छ। अहिलेको सरकारमा प्रतिगमनको उपमा पाएको पार्टी, संविधानको रक्षाको एजेण्डा बोकेको पार्टी, भ्रष्टाचार अन्त्य गर्ने तथा बूढा बा – हरूलाई विश्राम गराउने नारा लगाउने पार्टी, राजसंस्थाको स्थापना गर्नुपर्छ भन्ने पार्टी र कुनै समय मधेश टुक्रयाउने अभिव्यक्ति दिएका पार्टीको साथै अन्य सप्त रङ्ग र खोल ओढेको पार्टी वर्तमान सरकारमा देख्न सकिन्छ।

विगत्‌मा अढाई / अढाई वर्ष प्रधानमन्त्रीको पदमा बस्नको लागि केपी शर्मा ओली र प्रचण्ड बन्ने सहमति भएको थियो, तर त्यो निर्णय कार्यन्वन नभएको तितो अनुभव प्रचण्डले राम्रोसँग ग्रहण गरेको इतिहास साँची छ। यही तितो यथार्थलाई शिरोपर गर्दै यस पाली पहिलो अढाई वर्षको प्रधानमन्त्री बन्नकै लागि पाँच दलिय गठबन्धन टुटाएर कांग्रेसलाई मर्नु न बाँच्नु बनाएको छर्लङ्ग छ। एमालेबाट विगत्‌को सत्ता र सरकार समिकरणमा माओवादी केन्द्रलाई धोका दिएको यथार्थतालाई आगामी अढाई वर्ष पछि एमालेलाई धोकाको बदला दिएर फेरी कांग्रेससँग मिलेर सरकार नबन्ला भन्न सकिदैन्। वर्तमान सरकारको आयु कति छ, भन्ने कुरामा राजतन्त्र स्थापना गर्ने विचार देखि राजतन्त्र विरुद्ध लडेर राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरेका पार्टी, नेपाल हिन्दु राज्य स्थापना हुनुपर्छ भन्ने पार्टी देखि नेपाललाई धर्म निरपेक्ष बनाउने पार्टी, प्रदेश सरकार खारेज हुनुपर्छ भन्ने पार्टी एक भएर बनेको सरकारको आयु कहिले सम्म होला, भनेर सहजै अनुमान लगाउन सकिन्छ।

पूर्व उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अमेरिकी नागरिकको घटनामा सर्वोच्चले सांसद तथा मन्त्री पद खारेज गरेको थियो। लामिछानेले फेरि नागरिकता प्राप्त सङ्गै फेरि गृहमन्त्री आफू अथवा आफ्नै पार्टीले पाउने दावी सहित ४८ घण्टा समय सीमा निर्धारणका साथै गृहमन्त्री कि सरकार छोड्ने अडान गरेको छ।

आशा गरौँ, वर्तमान सरकारको पाँच वर्ष कै कार्यकाल सम्म सहयात्रा होस्। स्थायी बनोस्। जनताको हितमा काम गरोस्। देशमा समृद्धि र विकास होस्। शुभकामना ।।।

प्रतिकृया दिनुहोस्