News Portal

गृहबाहेका मन्त्रालय लिन रास्वपालाई प्रधानमन्त्रीको प्रस्ताव

यसअघि रास्वपाले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी नै दिएको थियो 

फरकपोस्ट संवाददातामाघ २२ काठमाडौं
२८८ पटक
माघ २२ काठमाडौं

गृहमन्त्रालय बाहेक अन्य मन्त्रालय लिन प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई गरेको प्रस्तावमाथि छलफल गर्न आकस्मिक रूपमा शनिबार साँझ बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक निष्कर्षविहीन भएको छ ।

बैठक बस्नुअघि पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । स्रोतका अनुसार भेटमा प्रधानमन्त्रीले अदालतको फैसलाको सम्मान गर्नुपर्ने सबैको दायित्व भएकाले विकल्पसहित सहमति खोज्न प्रस्ताव गरेका थिए । चितवनमा उपनिर्वाचनको सुनिश्चितता भए विकल्पमा सहमति खोज्न सकिने सभापति लामिछानेको जनाउ थियो । राति साढे ८ बजे सुरु भई करिब साढे दुई घन्टा बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि आइतबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको थियो ।

‘बैठकमा गृह मन्त्रालय मात्रै नभएर राष्ट्रपतिदेखि उपनिर्वाचनसम्मको विषयमा छलफल भयो,’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने, ‘यो गठबन्धनभित्र गृह मन्त्रालय र रास्वपाको मात्रै विषय छैन, अन्य पनि छन् । कुनै निर्णयमा पुग्न सकिएन । त्यसैले आइतबार बिहान ११ बजे पुनः बैठक बस्ने गरी शनिबार रातिको बैठक स्थगित भएको छ ।’

प्रमुख सचेतक परियारका अनुसार पछिल्ला राजनीतिक घटनाक्रमबारे सत्तागठबन्धनभित्र भइरहेको संवादबारे सभापति लामिछानेले बैठकमा ‘ब्रिफ’ गरेका थिए । ‘सरकार छाड्ने–नछाड्ने भन्ने विषयमा खासै छलफल भएन, नेताहरू संवादमै हुनुहुन्छ । राजनीतिमा संवाद त बन्द गर्नुभएन,’ परियारले भने ।

नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलासँगै गुमेको गृह मन्त्रालय पुनः पाउनुपर्ने रास्वपाको माग छ । तर, प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको पूर्णपाठ नआइसकेको तथा लामिछानेको पासपोर्ट विवाद छानबिनको विषय बनेकाले मन्त्री बनाउन अस्वीकार गर्दै आएका छन् । सत्तागठबन्धनभित्र भएको सहमतिअनुसार गृह मन्त्रालय रास्वपाले पाउनुपर्नेमा एमाले अध्यक्ष ओली सकारात्मक छन् ।

यसअघि रास्वपाले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी नै दिएको थियो । बिहीबार पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा रास्वपाको बैठकअगाडि प्रधानमन्त्री प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका अध्यक्ष ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल कुनै निर्णय नलिन, हतारमा निर्णय लिँदा गठबन्धन नै अप्ठेरोमा पर्ने र सरकारको स्थायित्वमाथि प्रश्न उठ्ने भन्दै थप दुई दिनको समय माग गरेका थिए । उनीहरूकै आग्रहमा रास्वपाले दुई दिन पर्खने र उच्चस्तरीय राजनीतिक संयन्त्रमा आफ्नो कुरा राख्ने निर्णय गरेको थियो ।

शनिबार राति दुई दिनको समयसीमा सकिँदासम्म संयन्त्रको बैठक बस्न सकेन । बरु, शनिबार बिहान गृह विवादकै विषयमा छलफल गर्न बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । भेटमा ओलीले संयन्त्रको बैठक बस्न दबाब दिए पनि प्रधानमन्त्री प्रचण्डले खासै रुचि देखाएनन् । माओवादीको स्थायी कमिटी बैठकपछि पत्रकारसँग प्रचण्डले भनेका थिए, ‘समस्या समाधान हुन्छ ।’

तर, रास्वपाका उपसभापति एवं संसदिय दलका नेता डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको नयाँ प्रस्तावबारे अनभिज्ञता जनाए । ‘हामी त गृह मन्त्रालयमै अडिग छौँ,’ उनले भने, ‘हिजो, आज र भोलि सधैँ हाम्रो एउटै धारणा हो । उच्चस्तरीय राजनीतिक संयन्त्रले जे सहमति गरेको थियो, त्यही पालना हुनुपर्छ भन्ने हो । हामीले दुई दिनभित्र संयन्त्रको बैठक राख्नुस् भनेका हौँ, उहाँहरूले त्यो पनि सक्नुभएन । राजनीतिमा न्यूनतम इमानदारिता हुनुपर्छ भन्ने हो ।’

चितवन २ मा उपनिर्वाचनको मिति तोकिनुपर्ने विषयमा पनि छलफल भएको उपसभापति अर्यालले बताए । ‘पार्टीको महामन्त्री, सहमहामन्त्रीलगायत केही सदस्य पार्टीको कार्यक्रमका कारण उपत्यकाबाहिर रहेकाले पनि शनिबारको बैठकले कुनै निर्णय गर्न नसकेको हो । सम्भवतः आइतबारको बैठकले राष्ट्रपति र उपनिर्वाचनका विषयसँगै सबै विषयमा औपचारिक निर्णय गर्नेछ,’ उनले भने । नयाँ पत्रिका

प्रतिकृया दिनुहोस्