News Portal

रवि लामिछानेको दाबी : फेरि चुनाव जित्न कुनै चुनौती छ जस्तो लाग्दैन

फरकपोस्ट संवाददातामाघ २९ काठमाण्डाैं
२३६ पटक
माघ २९ काठमाण्डाैं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णयको स्वागत गरेका छन् ।

उनले बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उपनिर्वाचन जतिसक्दो छिटो गर्न आग्रह समेत गरेका थिए । ‘बिहान प्रधानमन्त्रीलाई आग्रह गरेको थिएँ । दिउँसो निर्णय आयो’ लामिछानेले भने ।

अब फेरि पनि रास्वपाबाट आफू नै उम्मेदवार हुने लामिछाने खुलासा गरेका छन् । चितवन २ मा अर्को उम्मेदवार हुँदैन होला नि भन्ने  प्रश्नमा उनले भने, ‘हुँदैन होला, कसरी होला र’

गत ४ मंसिरको चुनावमा लामिछाने ४९ हजार २६१ भारी मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याएर पराजित भएका थिए । तेस्रो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका थिए ।

लामिछाने भारी मतान्तरले विजयी भएका थिए । तर, नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको उम्मेदवारी र विजयी घोषणा गर्ने निर्वाचन आयोगको निर्णय बदर गरिदिएपछि लामिछानेकाे सांसद पद गुमेकाे थियाे र चितव २ काे निर्वाचन क्षेत्र रिक्त रहेकाे थियाे । लामिछानेले अमेरिकन नागरिकता त्यागेर पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भनी सर्वोच्च अदालतले उम्मेदवार नै हुन अयोग्य रहेको फैसला गरेको थियो ।

फेरि पनि आफू नै उम्मेदवार हुने बताएका लामिछानेले विगतका भन्दा अझ बढी मतान्तरमा चुनाव जित्ने आशा राखेकाे बताए ।

‘त्यसैले पनि मलाई चुनौतीपूर्ण छ भन्ने लाग्दैन । तर, पनि निर्वाचन हो । वैशाखसम्म के हुन्छ हेरौं । त्यस्तो चुनौतीपूर्ण होला भन्ने लाग्दैन,’ रास्वपा सभापति लामिछानेले भने, ‘हिजो मात्रै निर्वाचन क्षेत्रमा पुगेर आएँ । नागरिकहरुले जुन ढंगले प्रतिक्रिया दिनुभएको छ त्याे निकै उत्साहजनक रहेकाे छ । त्यसले फेरि चुनाव जित्न कुनै चुनौती छ भन्ने लाग्दैन ।’

तथापि, वैशाखसम्म हुने राजनीतिक घटनाक्रमलाई नियाल्नुपर्ने लामिछाने बताउँछन् । उनी भन्छन् , ‘वैशाखसम्म के हुन्छ हेरौं ।’

प्रतिकृया दिनुहोस्