News Portal

दोहोरीगीत प्रतिष्ठानकाे अध्यक्षमा रीता थापा र पशुपति शर्मा आकांक्षी

प्रतिष्ठानले भन्याे -आर्थिक लेनदेन गर्नेलाई विधान अनुसार कारबाही गरिन्छ

फरकपोस्ट संवाददाता
७७७ पटक

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले आसन्न केन्द्रीय महाधिवेशनलाई प्रभावित पार्नेगरी कुनै प्रतिनिधि, उम्मेदवार वा संस्थाले आर्थिक प्रलाेभन र लेनदेन गरेमा आचारसंहिताअनुसार कडा कारवाही गर्ने चेतावनी दिएको छ । अध्यक्ष रमेश बीजी र महासचिव सुवास केसीले वक्तव्य जारी गर्दै  सम्भावित आर्थिक चलखेल र लेनदेन रोक्न सचेत गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘महाधिवेशनको नाममा मत प्रभावित हुने आशय राखेर कोही कसैसँग आर्थिक चलखेल र लेनदेन गरेको वा लेनदेन गर्ने आशयसहितको कुरा गरेको प्रमाण फेला परेमा त्यसरी कुरा गर्ने प्रतिनिधि, उम्मेदवार या संस्था जोकोहीलाई पनि केन्द्रीय समितिले आफ्नो आचारसंहिताको अधीनमा रही कडाभन्दा कडा कारवाही गर्ने व्यहोरा जानकारी गराइन्छ ।’

फागुन १२ देखि १४ गतेसम्म धादिङमा हुन लागेको आठौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा संस्थाले चेतावनीपूर्ण वक्तव्य जारी गरेको हो । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ । जसका लागि चुनावी माहोल तातिएको छ र केही कलाकारले आफ्नाे उम्मेदवारी घोषणा गर्ने तयारी पनि गरिरहेका छन् ।

वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष समेत रहेकी रीता थापा मगर अध्यक्षको उम्मेदवार बन्ने तयारीमा छिन् । महािधवेशनकाे विषयमा जानकारी गराउन आयाेजित पत्रकार सम्मेलनमा अबकाे अध्यक्षकाे उम्मेद्वार काे हुन्छ भन्ने पत्रकारकाे प्रश्‍नमा अध्यक्ष बिजीले संस्थाकाे विधि प्रक्रिया र पद्दतिका हिसाबले वर्तमान वरिष्ठ उपाध्यक्ष रिता थापा उम्मेद्वार रहेकाे जानकारी गराएका थिए ।   सहमति भए वा चुनावी प्रक्रियामा गएर  जितेको खण्डमा रिता प्रतिष्ठानको पहिलो महिला अध्यक्ष बन्नेछिन् । अहिलेका प्रथम उपाध्यक्ष पशुपति शर्मा पनि अध्यक्षका आकांक्षी हुन् । अहिलेका द्वितीय उपाध्यक्ष रामजी खाँड प्रथम उपाध्यक्षका लागि आकांक्षी हुन् । महिला उपाध्यक्षमा राधिका हमालले कार्यकाल दोहोर्‍याउने मनस्थिति बनाएकी छिन् ।

महासचिवमा शिव हमाल आकांक्षी छन् । शंकर बीसी र कुलेन्द्र विश्वकर्माले तृतीय उपाध्यक्षमा आउने चाहना व्यक्त गरेका छन् । तर कसैले पनि सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गरिसकेका  छैनन् । नयाँ संस्था खोल्ने तयारीमा रहेका गायक विष्णु खत्रीले यसपाली अध्यक्षमा उम्मेदवारी नदिने देखिएकाे छ । उनी केही सातामै अग्रज गायक बम बहादुर कार्कीलाई अध्यक्षमा  नयाँ संस्था खोल्ने तयारीमा लागेका छन् ।

प्रतिकृया दिनुहोस्