News Portal

एसइई परीक्षा आजदेखि सुरु : पाँच लाख १६ हजार परीक्षार्थी सहभागी

फरकपोस्ट संवाददाताचैत १७ काठमाण्डाैं
२७१ पटक
चैत १७ काठमाण्डाैं

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबारदेखि सुरु भएको छ । यस वर्षको एसइईमा पाँच लाख १६ हजार पाँच सय ९१ परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी भएका छन् ।

एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको छ । जापानका विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मीलगायत गरी ७८ हजार जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ ।

यस वर्ष छात्राभन्दा छात्रको संख्या बढी पाइएको छ । दुई लाख ६० हजार ६ सय ७४ छात्र र दुई लाख ५५ हजार नौ सय १७ छात्रा सहभागी रहेका छन् । यसपाली सबैभन्दा धेरै विद्यार्थी तथा परीक्षा केन्द्र बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेकाे छ। बागमती प्रदेशमा चार सय ३४ परीक्षा केन्द्र र एक लाख ६ हजार नौ सय ५९ विद्यार्थी रहेका छन् । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने छ । परीक्षा २९ चैतसम्म सञ्चालन हुनेछ ।

सबैभन्दा कम रहेको कर्णालीमा एक सय ७९ परीक्षा केन्द्र र परीक्षार्थी ४१ हजार तीन सय २९ रहेको बोर्डले जनाएको छ । त्यसैगरी, कोसी प्रदेशमा तीन सय ७८, मधेसमा दुई सय ७९, गण्डकीमा दुई सय २३, लुम्बिनीमा तीन सय ३४ र सुदूरपश्चिम प्रदेशमा दुई सय नौ परीक्षा केन्द्र तय गरिएको छ ।

अघिल्लो वर्षको एसइईमा देशभरबाट पाँच लाख १८ हजार एक सय ८५ विद्यार्थीले आवेदन भरेकामा चार लाख ९५ हजार ६ सय ४८ जना परीक्षामा सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस्