News Portal

वैज्ञानिकहरू विरुवा रोएको आवाज रेकर्ड गर्न सफल

एजेन्सी चैत २० काठमाडौं
२८६ पटक
चैत २० काठमाडौं

वैज्ञानिकहरूले बिरुवा रोएको आवाज रेकर्ड गरेका छन् । सुख्खा र चोट पुगेको अवस्थामा बिरुवा रोएको आवाज वैज्ञानिकहरूले रेकर्ड गरेका सफल भएका हुन् ।

अनुसन्धानकर्ताहरूका अनुसार निर्जलीकरण र चोट पुग्दा बिरुवा तनावको स्थितिमा पुग्ने र त्यसबेला विशेष किसिमको आवाज निकाल्ने गर्छन् ।

मानिसहरू तनाव हुँदा झर्किने रूने गरेझैं विरुवा पनि तनावको स्थितिमा रूने उनीहरूको जिकिर छ । रुनका लागि मुखमात्रै आवश्यकता नपर्ने ठहर भएको न्युयोर्क टाइम्सले समाचार लेखेको छ ।

तनावको स्थितिमा रहने बिरुवाबाट आउने आवाज प्रस्टै सुन्न सकिने वैज्ञानिकहरूको दाबी रहेको छ । यो दाबी गत बिहीबार ‘सेल’ नामक जर्नलमा प्रकाशित भएको थियो ।
बिरुवा तनावमा हुँदा पानीको थोपा पानीमा पर्दाजस्तै आवाज निकाल्ने अनुसन्धानकर्ताहरूको दाबी छ। यसलाई उनीहरूले ‘पपिङ’ भनेका छन् ।

इजरायलको तेल अविव विश्वविद्यालयका जीव विज्ञानकर्मी लिअच अदानीका अनुसार बिरुवाहरूले माहुरीलगायत अन्य जीवहरूसँग पनि अन्तर्क्रिया गर्छन् । ‘बिरुवाहरूले विभिन्न जीवहरूसँग पृथक ढंगले अन्तरक्रिया गर्छन् । रसायन उत्सर्जन गरेरसमेत बिरुवाले सञ्चार गर्दछ,’ उनले भनेका छन् ।

यो कुरा पत्ता पाएका अदानीलाई बिरुवाले तनावको स्थितिमा उत्पन्न गर्ने आवाजबारे अनुसन्धान गर्न मन लाग्यो । यसअघि त्यस विषयमा कुनै पनि सन्दर्भ सामग्री नभएकाले अनुसन्धान पनि चुनौतीपूर्ण नै थियो । तर अदानीले योसी योभलसँग भेट गरेर  यस विषयमा अनुसन्धान गर्ने निधो गरे । उनीहरूले आफ्नो अध्ययन टमाटर र सुर्तीको बिरुवामा केन्द्रित गर्ने निधो गरेका थिए । यी बिरुवाको आनुवंशिकी बुझ्न सहज हुने भएकाले  उनीहरूले टमाटर र  सुर्ती चयन गरेका थिए ।

यी अनुसन्धानकर्मीहरूले टमाटर  र सुर्तीको बिरुवालाई ध्वनीरहित बाक्समा राखेर त्यहाँ माइक राखिदिए । बिरुवाको डन्ठीमा उनीहरूले माइक राखेका थिए । त्यसपछि उनीहरूले बिरुवा सुख्खा हुँदा र डन्ठी काटेर चोट पुग्दा विशेष ध्वनी निकाल्ने पत्ता लगाए ।
बाकसमा राखिएको बिरुवाबाट आएको ध्वनीबारे करेसामा रहेका बिरुवासँग पनि अनुसन्धान गरिएको थियो । त्यसबेलासमेत बिरुवाले उस्तै ध्वनी निकालेपछि उनीहरूले बिरुवा तनावमा हुँदा रूने निष्कर्ष निकाले हुन् ।

यान्त्रिक विधिबाट परीक्षण गर्दा त्यस्ता ध्वनी निकालेका बिरुवाहरू या त सुख्खा थिए या त  उनीहरूमा केही चोटपटक लागेको थियो । टमाटर र सुर्तीपछि अंगुरको झुप्पामा समेत यो अनुसन्धान गरिएको थियो । ‘बिरुवाको आवाजले संचार गर्ने सन्देश के हुनसक्छ भन्ने निष्कर्ष सहितको यो अनुसन्धान निकै महत्वपूर्ण छ । यसलाई अझै परिष्कृत गर्न सकिन्छ,’ क्यालिफोर्निया विश्वविद्यालयका इकोलोजिस्ट रिचार्ड कबानले भने ।

प्रतिकृया दिनुहोस्