
नेपालकै सात धाम मध्येको एक अन्तर्गत पर्ने प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी मन्दिरमा बिहानीको झिसमिसे संगै काफलको डालो बोकेर स्वर्गद्वारी प्रवेशद्वार पुग्छिन् स्वर्गद्वारी नगरपालिका वडा नं. २ नोस प्यूठानकी ५७ वर्षीया तिलसरी पुन ।
दिनभर मन्दिरमा दर्शन गर्न आउने तिर्थालु भक्तजनहरुलाई काफल बेच्ने यस समय तिलसरीको दैनिकी बनेको छ । स्वर्गद्वारी प्रवेशद्वार आसपासमा काफलको डालो संगै तिलसरी जस्तै अरु मान्छे पनि भेटिन्छन् काफल बच्नेहरु ।
बिहानदेखि बेलुकासम्म काफल बिक्री गरेर कुनै दिन २ हजार, कुनै दिन ६ देखि ७ सय कमाउने तिलसरी बताउछिन् ।
कमाइ कहिले कम कहिले ठिक्क भएपनि आफू सन्तुष्ट रहेको उनलेे बताए ।
जंगलमा गएर काफल टिपेर घरबाट करिब २ घन्टा लाग्ने बाटो पैडल हिडेर उनी काफल बेच्न मन्दिर परिसरमा पुग्ने गर्छिन् । एक सय रुपैयाँमा ६ गिलासका दरले उनले काफल बेच्छिन् ।
घरमा श्रीमानकाे मेहनत गर्नसक्ने अवस्था नभएकाले दैनिकी चलाउन र सन्तान लाई पढाउनको लागि पनि यो दुख गर्नुपरेकाे छ उनले भावुक हुँदै भनिन् । हाम्रो त जीवन अध्यारोमै गयो तर छोराछोरीको भविष्य नबिग्रियाेस भनेर यी दु:ख कष्टहरु झेलिरहेकी छु उनले भनिन् । आफ्नो सन्तानको सुनौलो भविष्यका निम्ति अभिवाकले जस्तोसुकै जोखिम र चुनौतीको पनि सजिलै सामना गर्न सक्छन भन्ने ज्वलन्त उदाहरण बनेकी छिन् तिलसरी ।
तिलसरी पुनले काफल मात्रै बेच्दैनन उनले प्यूठानमा उत्पादित अन्य कृषिजन्य सामाग्री एवं वस्तुहरुकाे प्रचारप्रसार पनि स्वर्गद्वारी घुम्न आएका पर्यटक हरुमाझ गर्ने गर्छिन ।