News Portal

क्रिकेटमा नेपालको फड्को : एसिसी प्रिमियर कप च्याम्पियन बन्यो

अब भारत र पाकिस्तानसँग खेल्ने

फरकपोस्ट संवाददाताबैशाख १९ काठमाडौं
१५९५ पटक
बैशाख १९ काठमाडौं

नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ । मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बन्न सफल भएको हो ।

च्याम्पियन बनेसँगै नेपाल एसिया कप प्रतियोगितामा छनोट भएको छ । आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्नेछ ।

युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालको जितमा गुल्सन झाले अर्धशतक प्रहार गरे । उनले नटआउट ६७ रन जोड्दा भीम सार्कीले नटआउट ३६ रन जोडे। दुईबीच चौथो विकेटका लागि ९६ रनको साझेदारी भएको थियो ।

गुल्सनले ८४ बलमा ३ चौका र ६ छक्का तथा भीमले ७२ बलमा ४ चौका हिर्काएका थिए ।

त्यसअघि नेपालका दुवै ओपनरसहित कप्तान रोहित पौडेल आउट भएका थिए ।

कप्तान रोहितलाई १ रनमा रोहान मुस्ताफाले शून्यमा बोल्ड गरे भने विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई ८ रनमा युएईका आयान खानले एलबिडब्लू आउट गरे ।

ओपनर कुशल भुर्तेललाई १.२ ओभरमा युएईका मुस्ताफाले १ रनमा एलबिडब्लूकै धरापमा पारे ।

युएई ११७ रनमा अलआउट

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिदा मंगलबारसम्मका लागि स्थगित भएको थियो ।

मंगलबार २७.३ बाट ब्याटिङ सुरु गरेको युएई ३३.१ ओभरमा ११७ रनमा अलआउट भयो। मंगलबार अन्तिम विकेटको रुपमा युएईका जुनइद शिद्धिकीलाई १० रनमा नेपालका ललितनारायण राजवंशीले कुशल भुर्तेलबाट क्याच गराए ।

सोमबार युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन जोडे। उनलाई आठौं विकेटको रुपमा नेपालका ललितले आरिफ शेखबाट क्याच गराए। लगत्तै अर्को बलमा ललितले जहूर खानलाई शून्यमा आउट गरे ।

त्यसअघि सन्दीप लामिछानेले युएईका आयन खानलाई ५ रनमा कुशल मल्लबाट क्याच गराए। गुल्सन झाले युएईका बासिल हामिदलाई १० रनमा बोल्ड गरे ।

युएईका ओपनरद्वय मोहमद वासीम ११ रन र आर्यन लक्रा १३ रनमा आउट भए। वासीमलाई सोमपाल कामी र आर्यनलाई करण केसीले आउट गरे ।

यस्तै वृत्य अरिवन्द ८ रन र रमिज शाहजाद १ रनमा आउट भए। वृत्यलाई करण र रमिजलाई ललितनारायण राजवंशीले आउट गरे। रोहान मुस्ताफालाई २ रनमा सन्दीपले आउट गरे ।

बलिङमा नेपालका लागि ललितले ४ विकेट लिए। उनले ७.१ ओभरमा २ मेडन राख्दा १४ रन खर्चिए।  सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिए भने सोमपाल कामी र गुल्सन झाले १-१ विकेट हात पारे।

प्रतिकृया दिनुहोस्