
आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्रकान्त भण्डारीको थप उपचार मंगलबारदेखि काठमाडौंमा सुरू गरिएको छ ।
काठमाडौंको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उनलाई मंगलबार भर्ना गरी उपचार सुरू गरिएको अस्पतालका प्रमुख डा नवराज पाण्डेले जानकारी दिए ।
गत फागुन ४ गते राति घटना हुनासाथ प्रारम्भिक उपचार गराइएको कीर्तिपुर बर्न अस्पतालका प्रमुख तथा वरिष्ठ चिकित्सक डा शंकरमान राईसँग परामर्श गरी फ्रन्टलाइनमा भर्ना गरिएको हो ।
अस्पतालले उनका लागि आवश्यक सबै सेवा, सुविधा निःशुल्क प्रदान गर्ने बताएको उनका स्वकीय सचिव बोधराज कँडेलले जानकारी दिए। उनको उपचारमा वरिष्ठ चिकित्सक डा चक्रराज पाण्डे र उनका टिम संलग्न छ। अस्पतालमा अहिले फिजियोथेरापी, ड्रेसिङलगायत उपचार गराइने डा पाण्डेले जानकारी दिए ।
भण्डारीलाई यसअघि भारतको मुम्बईमा रहेको नेसनल बर्न सेन्टरमा उपचार गराइएको थियो। भारतबाट आइतबार स्वदेश फर्किएका भण्डारीको शरीरका अधिकांश भागमा जलेको घाउ छ ।
शरीरमा संक्रमण हुने खतरा कायमै रहेकाले अस्पताल प्रशासन र चिकित्सकले भेटघाटमा अझै पनि प्रतिबन्ध लगाएका छन्।
गत फागुन ३ गते काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास आगलागी भएपछि नेता भण्डारीसँगै उनकी आमा हरिकला भण्डारी पनि घाइते भएकी थिइन्। आमाको भने उपचारकै क्रममा कीर्तिपुर अस्पतालमै निधन भएको थियो ।