
नेपाल सरकारले एसिसी प्रिमियर कप विजेता नेपाली टोलीलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख र अफिसियललाई ३ लाख रुपैयाँसहित पुरस्कृत गर्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मंगलबार नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई सात विकेटले हराउँदै प्रिमियर कपको उपाधि जितेको थियो । नेपालको जितमा अलराउन्डर गुल्सन झाले सानदार प्रदर्शन गरेका थिए । दुई दिनसम्म चलेको फाइनल खेलमा नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको थियो । घरेलु मैदानमा उपाधि जितेसँगै नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा सुरक्षित स्थान बनाएको छ। समूह ‘ए’मा नेपालले भारत र पाकिस्तानसँग खेल्ने पक्का भइसकेको छ ।
नेपालले २१ वर्षपछि एसिया कपमा नयाँ इतिहासंगै स्थान बनाएको हो । सन् २००२ मा नेपाल छनोट भए पनि भारत र पाकिस्तानको अन्तरिक द्वन्द्वका कारण प्रतियोगिता आयोजना हुन सकेको थिएन ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको खेलकुद पुरस्कार कार्यविधिअनुसार एसिसी प्रिमियर कप विजेता खेलाडीले जनही पाँच लाख पाउने थिए । राखेपले हरेक खेलका अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता खेलाडीलाई पाँच लाख दिने कार्यविधि बनाएको छ । तर, मन्त्रिपरिषद्ले कार्यविधिमा भएको भन्दा एक लाख थपेर पुरस्कृत गर्ने निर्णय लिएको हो ।
‘आजको मन्त्रिपरिषद्को बैठकबाट एसिसी प्रिमियर कप क्रिकेट विजेता प्रतिखेलाडी ६ लाख र अफिसियललाई जनही तीन लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।
त्रिवि मैदानको गुणस्तर विकास हुने
मन्त्रिपरिषद्को निर्णयले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको गुणस्तरमा विकास गर्ने जनाएको छ । त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने निर्णयसमेत गरिएको छ । ‘अन्तर्राष्ट्रिय रंगशालालाई गुणस्तर विकास गर्ने र आवश्यक बजेट विनियोजन गर्ने निर्णय गरिएको छ,’ सामाजिक सञ्जालमा प्रधानमन्त्री दाहालले लेखेका छन् । कीर्तिपुरको त्रिवि मैदान र मूलपानीको माथिल्लो मैदान अन्तर्राष्ट्रियस्तरका हुन् ।
मूलपानीले पहिलोपटक एसिसी प्रिमियर कपबाट अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यस मैदानमा प्यारापिट छैन । कीर्तिपुरमा भने सामान्यतर्फ १२ हजारमाथि समर्थकले खेल हेर्दै आइरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को यस निर्णयले नेपाली क्रिकेट खेलाडीलाई प्रोत्साहन र क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । ‘मन्त्रिपरिषद्को यस निर्णयले नेपाली क्रिकेट खेलाडीलाई प्रोत्साहन र क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु । क्रिकेटमार्फत नेपालको पहिचान र गौरव बढाउने सम्पूर्ण खेलाडीलाई फेरि एकपटक हृदयदेखि बधाई एवं धन्यवाद व्यक्त गर्दछु ।’