News Portal

ग्यास र विजुली प्रयोगको शिक्षा विद्यालयकै पाठ्यक्रममा समावेश गराैं : चन्द्र भण्डारी

फरकपोस्ट संवाददाताजेठ १० काठमाण्डाैं
१३० पटक
जेठ १० काठमाण्डाैं

नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीले ग्यास तथा विजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सरकारसँग सदन मार्फत माग गरेका छन् ।

गत ३ पुसमा आफ्नै घरमा ग्यास लिक भएर भएको आगलागीमा परी घाइते भएपछि बुधबार पहिलो पटक संसदमा पुगेका उनले सडक लेन क्रस गर्नेदेखि घरमा ग्यास र विलुली कसरी चलाउने भन्ने शिक्षा विद्यालयको पाठ्यक्रममा नै समावेश गर्नुपर्ने बताएका हुन् । जलनमा परेर अघिल्लो वर्ष ११० र यो वर्ष आफ्नो आमासहित १११ जनाको मृत्यु भएको भन्दै उनले यसलाई गम्भीर रुपमा लिनुपर्ने बताएका हुन् ।

३ पुसमा ग्यास चुहिएर भएको आगलागीमा परेर सांसद भण्डारीकी आमाको मृत्यु भएको थियो भने उनको भारतमा उपचार गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपनि उनी पूर्ण रुपमा निको भइसकेका छैनन् ।

हातमा ब्याण्डेज लगाएकै अवस्थामा संसदमा पुगेका उनले सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिए । जलनका घाइतेमध्ये विगत तीन वर्षमा तीन जना मात्र भेन्टिलेटरमा पुगेर पनि बाँचेको र त्यसमध्ये आफू एक भएको भन्दै उनले उद्दार गर्ने, उपचार गर्ने स्वास्थ्यकर्मी, सहयोग गर्ने सरकार सबैलाई धन्यवाद दिए ।

कांग्रेस सांसद भण्डारीले जलनको उपचार गर्ने कीर्तिपुर र सुष्मा कोइराला मेमोरियल अस्पतालमा भवन आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

जलनमा पर्ने अधिकांश विपन्न नागरिक हुने भएकाले क्यान्सर, मिर्गौलारोगी सरह जलनका बिरामीलाई पनि उपचारमा सहयोग गर्नुपर्ने सांसद भण्डारीले बताए । साथै स्वाचालित ग्यास रेगुलेटरहरु अनिवार्य प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था गर्नसमेत उनले सरकारलाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्