
जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय सुर्पाल रोल्पाले प्यूठान जिल्ला स्वर्गद्धारी नगरपालिका वडा नं २ नयाँगाउँ प्युठान निवासी कोमती घर्तीको परिवारलाई ३ लाख ८६ हजार २ सय १८ रुपैया आर्थिक सहयोग गरेको छ ।
लघु वित्तीय संस्थामाको टोल समूहमा आबद्ध कोमती घर्तीमगरको २०८९ साल फागुन ४ गते मृत्यु भएको थियो । कोमतीको मृत्यु भएपछि संस्थाले मृत कोमतीका श्रीमान दल बहादुर घर्ती मगरलाई सो आर्थिक सहयोग प्रदान गरेको हो ।
शाखाको कार्यविधि अनुसार मंगलबार एक कार्यक्रमको आयोजना गरी सहयोग रकम उपलब्ध गराएको संस्थाका कर्मचारी निशाना पौडेलले जानकारी दिए ।
साथै मृतक परिवारले संस्थालाई ऋण लिए बापत भुक्तानी गर्नु पर्ने बाकी रु २ लाख ५० हजार रकम पनि संस्थाले मिनाह गरिएको छ ।
मृतक कोमतीका परिवारले प्राप्त गरेको रकमले छोराछोरीको पठनपाठनमा सहज होस भन्ने हेतुले सहयोग रकम हस्तान्तरण गरिएको संस्थाले बताएको छ ।
स्वर्गद्धारी नगरपालिका वडा नं २ का वडा सदस्य पुर्ण घर्तीको अगुवाइमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
सहयोगरकम हस्तान्तरण कार्यक्रममा बोल्दै वडा सदस्य घर्तीले संस्थाको यो कार्य सम्मान गर्न लायक रहेको बताए ।
साथै घर्तीले जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड बाट प्रदान गरिने सेवा सुविधा लिई आफु र आफ्नो परिवारको लघु विमा गरी भविष्य सुरक्षित गर्न समेत आग्रह गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि रामकृष्ण बस्नेत रहेका थिए भने कार्यक्रमको सहजीकरण गगन योगीले गरेका थिए । त्यस्तै कार्यक्रममा संस्थागत विविध जानकारी जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय सुर्पाल रोल्पाका शाखा प्रबन्धक रामकृष्ण बस्नेतले गरेका थिए ।