
प्युठानको स्वर्गद्वारीमा सोमबार दिउँसो भएको कार दुर्घटनामा परी मृत्यु भएका ८ जनाकै पहिचान खुलेको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालको पहिचान भएसँगै मृतक सबैको सनाखत भएको हो ।
सोमबार करिब ३ बजे स्वर्गद्वारी नगरपालिका-४ भिंग्रीस्थित भ्यागुते टाकुरामा भन्ने ठाउँमा कारण दुर्घटनामा परेको थियोे । कार उपल्लो घुम्तीबाट तल्लो घुम्तीमा खस्दा कारमा सवार ८ जना गम्भीर घाइते भएका थिए । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लैजादै गर्दा बाटोमा नै मृत्युु भएको हो । दुर्घटनामा ज्यान गुमाउने सबै दाङका रहेका छन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार मृत्यु हुनेमा बालक शिशिर खनालसहित तुलसीपुर- १५ कोठरीकी ३४ वर्षीया सरिता शर्मा, उनका १४ वर्षीय छोरा विशाल र ९ वर्षे विकास, गढवा गाउँपालिका- ७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीया श्रीमती राधा नेपाली र छोरा ९ वर्षीय छोरा आदित्य शाह र कारचालक लमही नगरपालिका- ५ का ४९ वर्षीय तारा कुमाल छन् ।
घोराहीका शिशिर सरिताका साथीको छोरा भएको प्रहरीले जानकारी दिएको छ ।
शर्मा र शाहको परिवार घोराही- १० नारायणपुरमा कोठा भाडामा बस्दै आएका थिए। शाह स्थानीय एक फर्निचर उद्योगमा काम गर्थे । सरिताका श्रीमान भने वैदेशिक रोजगारीमा छन् ।
स्वर्गद्वारी मन्दिर दर्शन गरी दाङतर्फ आउँदै गरेको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका- ४ भिंग्रीको घुम्तीमा दुर्घटनामा परेको थियो ।
प्रहरीका अनुसार कार करिब ४५ मिटर तल सडकमा आएर बजारिएको थियो। गुल्टिँदै कार माथिल्लो सडकबाट तल्लो सडकमा बजारिएको हुँदा ठूलो मानवीय क्षति भएको डिएसपी खड्काले बताए ।
तीव्र गतिको कार घुम्तीमा अनियन्त्रित भएर कार दुर्घटनामा परेको आशंका गरिएको पनि उनले बताए ।